लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त बनाउने लक्ष्यसहित ‘प्रदेश उद्दार कार्यक्रम सुरु हुँदै

वुटवल । मानवता प्रवर्द्धन महाअभियान अन्तर्गत मानवसेवा आश्रमले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण र व्यवस्थापनका लागि विशेष ‘प्रदेश उद्दार कार्यक्रम (लुम्बिनी प्रदेश यात्रा–२०८२) सञ्चालन गर्ने भएको छ।

आश्रमका अनुसार उक्त कार्यक्रम यही चैत्र १५ गतेदेखि चैत्र ३० गतेसम्म सञ्चालन हुनेछ। यात्राको क्रममा लुम्बिनी प्रदेशका तराई, पहाड र उच्च पहाडी गरी १२ जिल्ला—बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देही—मा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरूको अवस्था अध्ययन तथा उद्धार सेवा प्रदान गरिनेछ। कार्यक्रमको अर्को महत्वपूर्ण उद्देश्य स्थानीय तहहरूसँग सहकार्य विस्तार गर्दै “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश” निर्माणका लागि सरोकारवाला निकायहरूबाट प्रतिबद्धता संकलन गर्नु रहेको आश्रमले जनाएको छ।

 

मानवसेवा आश्रमले २०६९ साल देखि खुला आकाश मुनि सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक र मानसिक रूपमा कमजोर) व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ। हाल लुम्बिनी प्रदेशमा आश्रमका विभिन्न शाखामार्फत सेवा सञ्चालन भइरहेको छ। जसअनुसार रुपन्देहीको बुटवल केन्द्रमा ५५ जना, तिलोत्तमा केन्द्रमा १८० जना, दाङ शाखामा ६० जना र नेपालगन्ज शाखामा ८० जना गरी जम्मा ३७५ जना आश्रित रहेका छन्।

मानवसेवा आश्रमकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले यस प्रदेशस्तरीय उद्दार यात्राको गर्नुहुने छ। यसैबीच, आश्रमले आम नागरिकसँग महत्वपूर्ण अपिल पनि गरेको छ। यदि कतै सहयोगापेक्षी, बेसहारा वा सडकमा कष्टपूर्ण अवस्थामा जीवनयापन गरिरहेका मानवहरू देखिएमा नजिकको उद्धार टोली वा मानवसेवा आश्रममा तुरुन्त जानकारी गराइ सहयोग गर्न आग्रह गरिएको छ। यसले समयमै उद्धार गरी उनीहरूको जीवनरक्षा र पुनर्स्थापनामा ठूलो सहयोग पुग्ने विश्वास आश्रमले लिएको छ।