नवलपरासी । राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासी (ब.सु.प.) को आयोजनामा “संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता” विषयक अन्तरक्रिया कार्यक्रम सुनवलमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी प्रमुख अतिथिको रूपमा सहभागी हुँदै संविधान संशोधनको बहानामा राष्ट्रियता कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट चेतावनी दिनुभएको छ ।
प्रमुख अतिथि केसीले नेपालमा संविधान संशोधनको विषयलाई विदेशी शक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न खोजिरहेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र गणतान्त्रिक व्यवस्थामाथि हस्तक्षेप हुन नदिन सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन जनताको हित, राष्ट्रियता र लोकतान्त्रिक मूल्य मान्यताको आधारमा हुनुपर्ने उल्लेख गर्दै बाह्य दबाब र प्रभावमा गरिने संशोधन राष्ट्रहितविपरीत हुने धारणा राख्नुभयो ।
उहाँले संघीयता लागू भएपछि देशमा प्रशासनिक खर्च अत्यधिक बढेको, जनताले अपेक्षित सेवा नपाएको तथा राजनीतिक अस्थिरता झन् बढेको टिप्पणी गर्दै अहिलेको अवस्थामा राष्ट्रिय एकता र जनमुखी शासन प्रणालीलाई सुदृढ बनाउनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक सुबेदी ले संविधान संशोधनका नाममा राष्ट्रियता कमजोर पार्ने, विदेशी प्रभाव बढाउने तथा जनताको वास्तविक समस्याबाट ध्यान अन्तै मोड्ने प्रयास भइरहेको आरोप लगाउनुभयो । उहाँले देशको राजनीतिक नेतृत्वले राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा जिल्ला नवलपरासीका सचिव ढुण्डिराज पोखरेल ले कार्यक्रम सञ्चालन गर्दै वर्तमान राजनीतिक परिस्थिति, संविधान संशोधनको बहस तथा राष्ट्रियताको सवाल गम्भीर मोडमा पुगेको बताउनुभयो । उहाँले संविधान संशोधन गर्दा जनताको भावना, राष्ट्रिय स्वाभिमान तथा ऐतिहासिक यथार्थलाई बेवास्ता गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपरासीका अध्यक्ष कृष्ण बहादुर अधिकारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा जिल्ला नवलपरासीका सल्लाहकार जित बहादुर पौडेल ले संविधान संशोधनको विषय अहिले राष्ट्रिय बहसको केन्द्रमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, जनअधिकार र गणतन्त्रको रक्षा गर्दै संविधानलाई अझ जनमुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले संविधान संशोधन गर्दा विदेशी हस्तक्षेप, दलगत स्वार्थ र सत्ता केन्द्रित राजनीति भन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । सहभागीहरूले देशको सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनताको अधिकार कमजोर हुने गरी कुनै पनि संशोधन गर्न नहुने धारणा राखेका थिए ।
कार्यक्रममा वक्ताहरूले नेपाललाई आत्मनिर्भर, स्वाभिमानी र बलियो राष्ट्र बनाउन राष्ट्रिय चेतना आवश्यक रहेको उल्लेख गर्दै गणतन्त्रको रक्षा, राष्ट्रियताको सुदृढीकरण तथा जनताको अधिकार सुनिश्चित गर्ने दिशामा सबै देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने निष्कर्ष व्यक्त गरेका थिए ।
