स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः बास्तोला चयन

रुपन्देही । स्वतन्त्र पत्रकार सङ्घ नेपालको १४औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन नवलपुरको गैंडाकोटमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि कृष्णप्रसाद बास्तोलालाई पुनः केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

शुक्रबार गैंडाकोट स्थिति भण्डारी समाजको सभाहलमा भएको अधिवेशनले नयाँ कार्यसमितिमा उपाध्यक्षमा तिर्सना लक्ष्मी गुरुङ , महासचिवमा शुरेस श्रेष्ठ , सचिवमा कल्याण पन्त र कोषाध्यक्षमा नमस्कार शाह चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा युक्तप्रसाद सुवेदी , कृष्णबहादुर रायमाझी , योगेश खपाङ्गी , प्रेमध्वज लामा , सुरेश प्रसाद सैजु र सागर कार्की निर्वाचित हुनुभएको छ। ​कार्यक्रमको उद्घाटन सत्रमा वरिष्ठ पत्रकार उदय बहादुर अमात्यलाई नगद २५ हजार रुपैयाँ राशिको “सामाजिक पत्रकारिता पुरस्कार” प्रदान गरिएको थियो। कार्यक्रममा अमात्यले पत्रकारिता पूर्ण रूपमा स्वतन्त्र हुनुपर्ने र त्यसका लागि पत्रकार स्वयं उदाहरण बन्न सक्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँले कुनै पनि दलले स्वतन्त्र पत्रकारलाई आफ्नो प्रभावमा राख्न नसक्ने उल्लेख गर्दै निष्पक्षता नै पत्रकारको असली पहिचान भएको बताउनुभएको थियो। ​

कार्यक्रममा अध्यक्ष बास्तोलाले २०६८ सालमा पत्रकार महासंघभित्र देखिएको दलीय भागबण्डाको विरोधबाट संघको यात्रा सुरु भएको ऐतिहासिक पृष्ठभूमि स्पष्ट पार्नुभएको थियो। उहाँले पत्रकारिताको सम्मान जोगाउन स्वतन्त्रता अनिवार्य रहेको धारणा राख्नुभएको थियो। स्वतन्त्र पत्रकारिताबाट पेशागत जीवन धान्न सकिँदैन भन्ने भ्रम गलत भएको उल्लेख गर्दै आफूले तीन दशकदेखि यही अभ्यास गरिरहेको र यसबाट ‘आत्मसन्तुष्टि’ प्राप्त हुने बताउनुभएको थियो। बदलिँदो समयसँगै पत्रकारहरू प्रविधिमैत्री र डिजिटल सीपमा सक्षम हुनुपर्नेमा जोड दिनुभएको थियो । ​बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष तिर्सना लक्ष्मी गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सञ्चालन निवर्तमान महासचिव महेश जंग कुवरले र सहजीकरण महासचिव सुरेश श्रेष्ठले गर्नुभएको थियो।