जेठ २५ । सुनवल नगरपालिका–४ स्थित सुनवल युनाइटेड अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा राष्ट्रिय क्याडेट कोर (एनसीसी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल धनराज चपागाईंको अध्यक्षता तथा गोरख दलगण परासीका प्रमुख सेनानी सुरेन्द्रजंग थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख सेनानी थापाले एनसीसी विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम, आत्मविश्वास तथा जिम्मेवारीबोधको विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले एनसीसी तालिमले युवाहरूलाई शारीरिक तथा मानसिक रूपमा सक्षम बनाउँदै राष्ट्र निर्माणमा योगदान गर्न प्रेरित गर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा प्रिन्सिपल धनराज चपागाईंले विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता र जीवनोपयोगी सीप अभिवृद्धिलाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले एनसीसी कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, जिम्मेवारीबोध तथा राष्ट्रिय भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
अभिमुखीकरण कार्यक्रममा सेनानी सरोज खड्काले एनसीसीको उद्देश्य, तालिम प्रक्रिया, विद्यार्थीले प्राप्त गर्ने अवसर तथा यसका विभिन्न पक्षबारे सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा अभिभावकको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै सुनवल खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले एनसीसी तालिमले विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन तथा नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा एनसीसीमा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई तालिम तथा छनोट प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो।
विद्यालयका अनुसार एनसीसीको छनोट प्रक्रिया यही जेठ २७ गतेदेखि सुरु हुने तथा असार १ गतेदेखि नियमित तालिम सञ्चालन गरिनेछ। एमसीसी तालिमा नवलपरासी पश्चिमबाट जुनियर सिनियर गरेर चारवटा विद्यालय सहभागी हुने जनाएको छ। जुनियरमा सुनल युनाइटेड अंग्रेजी अवश्य माध्यमिक विद्यालयसँगै सिस्किन इङ्लिस बोर्डिङ स्कुल रहेको छ भने सिनियरतर्फ कवि देवकोटा नमुना माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालय बेलटारी रहेका छन्। प्रत्येक विद्यालयबाट ३०/३० जनामा १५ जना छात्र र १५ जना छात्रा सहभागी हुनेछन् ।