कताकता (दशलहरी)
                 कविता
विना काम ठुलो खाम यस्तो धाम कहाँ छ हो
हा राम ! पहिलो नाम आजै राख्न टिपे भयो ।।
दिक्क लाग्दो छ संसार आहार मात्र भार भो
यसै माथी छ शून्यको ज्ञानले झन भार भो ।।
भुसुक्क भुसुनो जस्तो तन्द्राले च्यापिए पछि
खुम्चिन्छ चेतना अग्लो अकाल कालको क्षति।।
घामले पोल्छ बाहिर ,मनले पोल्छ भित्र त
पर्दाले छेक्दछ चित्र हेर्दा विचित्र भित्र त ।।
उपलब्धि त क्यै छैन ढुङ्गाको अनि घाटको
जल्ने जलाउने स्पर्धा भागको अनि भावको।।
हाँसो लेखाउँन खोज्दा दुखले गर्छ हाजिरी
उजाड परेलो भित्र स्वर्गको मधुमाधुरी ।।
नैराश्य सुख हो भन्दा विराम पनि श्राप हो
द्वन्द्व स्वीकार गर्दा त चेतना पनि ताप हो ।।
भ्रम हो या परीक्षा हो छैन देखिन्न शिक्षक
भय हो या त ईच्छा हो प्रश्न यौटै छ ईश्वर ? ।।
गुलियो ,अमिलो, टर्रो ,पिरो ,तिक्त ,मधुरको
नुनिलो रसको खेलो सांसर्गिक प्रपञ्चको ।।
छैन टुङ्गो अती ठुलो संसार भार थाम्ने को
छैन टुङ्गो अती मूढो भण्डार भार थाम्ने को ।।