काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्मको एक साताको अवधिमा १३ हजार ९० जना सवारी चालक तथा ट्राफिक नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।
उक्त कारबाहीबाट एक करोड १८ लाख ६ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । यसलाई नियन्त्रण गर्न नियमित चेकजाँच, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो ।
ट्राफिक प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ६२९ जना तथा राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने एक हजार ३६ जनामाथि कारबाही गरिएको छ ।
त्यसैगरी, रातो बत्ती उल्लङ्घन गर्ने एक हजार २८२, तीव्रगतिमा सवारी चलाउने ७७८, लेन मिच्ने ५४०, सडक फुटपाथ अतिक्रमण गर्ने ६४०, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने एक हजार ६४६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने ७६२ जना चालक कारबाहीमा परेका छन् ।
प्रहरी उपरीक्षक सुवेदीले भन्नुभयो, “हाम्रो उद्देश्य केवल राजस्व सङ्कलन गर्नु होइन, नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गराउनु र सडक दुर्घटना न्यूनीकरण गर्नु हो ।”
विशेषगरी मापसे गरेर सवारी चलाउने, तीव्रगतिमा गाडी कुदाउने, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा ट्राफिक सिग्नल उल्लङ्घन गर्ने गतिविधिका कारण दुर्घटना बढ्ने भएकाले यस्ता कार्यविरुद्ध कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।