परासी । नेपाल मोबाइल व्यवसायी संघ, जिल्ला शाखा नवलपरासी (पश्चिम) को प्रथम साधारण सभा तथा पहिलो अधिवेशन सुनवलमा सम्पन्न भएको छ। “सामाजिक पहिचान सहितको व्यवसायिक सुरक्षा” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम संघका अध्यक्ष श्यामबहादुर खत्रीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेत को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले संघको सफलताको शुभकामना व्यक्त गर्दै व्यवसायीहरूको समस्या समाधानमा संघ संस्थाहरूले उद्देश्यपूर्ण ढंगले काम गर्नुपर्ने बताउनुभयो। उहाँले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी जटिलता, व्यवसाय सञ्चालनमा देखिएका चुनौती तथा आवश्यक कानुन निर्माणका विषयमा संघले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
विशेषगरी सेकेन्ड ह्यान्ड मोबाइल कारोबारलाई व्यवस्थित बनाउन खरिद–बिक्री गर्ने व्यक्तिको नागरिकता, लाइसेन्स वा पासपोर्टको प्रतिलिपि तथा सम्पर्क विवरण सुरक्षित राख्न सके भविष्यमा व्यवसायीहरू कानुनी झन्झटबाट जोगिन सहज हुने उहाँको भनाइ थियो।
उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै संघलाई अनुशासित, सशक्त तथा व्यवसायीहरूको सुरक्षाप्रति जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष श्यामबहादुर खत्रीले अधिवेशन केवल औपचारिक कार्यक्रम नभई मोबाइल व्यवसायीहरूको संघर्ष, एकता, धैर्यता र पहिचानको उत्सव भएको बताउनुभयो। उहाँले नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी पश्चिम आधिकारिक रूपमा दर्ता हुनु सम्पूर्ण व्यवसायीहरूको आत्मसम्मान, अस्तित्व र साझा आवाजको विजय भएको उल्लेख गर्नुभयो।
उहाँले मोबाइल व्यवसाय केवल व्यापारको माध्यम मात्र नभई हजारौं सपना जोडिएको क्षेत्र भएको धारणा व्यक्त गर्दै पछिल्लो समय व्यवसाय क्षेत्रमा चुनौती र जटिलता बढ्दै गएको बताउनुभयो। अवैध कारोबार तथा अनाधिकृत रूपमा भित्रिने सामानका कारण व्यवसाय थप प्रभावित बनेको उल्लेख गर्दै सम्पूर्ण व्यवसायी एकजुट भएर आधुनिक प्रविधिसँग अनुकूल हुने गरी व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा मोबाइल व्यवसायीहरूको हकहित, व्यवसायिक सुरक्षा, कानुनी प्रक्रिया, व्यवसाय दर्ता तथा सामाजिक पहिचानसहितको सुरक्षित व्यवसाय सम्बन्धी महत्वपूर्ण छलफल गरिएको थियो।
यसैबीच अधिवेशनबाट नेपाल मोबाइल व्यवसायी संघ, जिल्ला शाखा नवलपरासी (पश्चिम) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
निर्वाचित पदाधिकारी अध्यक्षमा श्याम बहादुर खत्री, वरिष्ठ उपाध्यक्ष अजय साफकोटा, उपाध्यक्ष सन्तोष बानियाँ, महासचिव शिवलाल भुसाल, सचिव केशव कुमार चौधरी, कोषाध्यक्ष ओम प्रकाश डुम्रे, सह–कोषाध्यक्ष कबिन्द्र प्रधान सदस्यहरूमा विशाल भण्डारी, धनेन्द्र प्रसाद गुप्ता, धिरज खरेल, बालमुकुन्द प्रसाद गुप्त, कृष्णमोहन अग्रहरी, कमलेश शर्मा, खेम नारायण चौधरी तथा रामानन्द प्रसाद सहनी चयन हुनुभएको छ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सुनवल का अध्यक्ष रमेश कर्मचार्य, नेपाल मोबाइल व्यवसाय संघका केन्द्रीय सचिव विष्णु ज्ञवाली, नेपाल व्यवसाय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष डी.एन. भण्डारी, इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक लक्ष्मण देवकोटा, उद्योग वाणिज्य संघ बर्दघाटका अध्यक्ष खिमलाल न्यौपाने, मोबाइल व्यवसाय संघ बुटवलका अध्यक्ष दिपेन्द्र पाण्डे तथा नेपाल मोबाइल व्यवसाय संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष कृष्ण आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संघका सचिव ओम प्रकाश डुम्रेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव शिवलाल भुसालले गर्नुभएको थियो।