
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल–१३, बडेरा सुन्दरबस्तीमा जारी तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव विवादमा तानिएको छ। मेला अझै सञ्चालनमा रहँदै गर्दा त्यसमा खटिएका कलाकार, सुरक्षा कर्मी, वाद्यवादक र अन्य सहयोगीहरूले आफूसँग गरिएको श्रमको पारिश्रमिक नपाएको गुनासो सार्वजनिक गरेका छन्।
महोत्सवमा संलग्न कलाकारहरूले कामको पैसा नपाएको मात्र होइन, अहिले पारिश्रमिकको कुरा उठाउँदा आयोजक पक्षका जिम्मेवार व्यक्तिहरूले फोनसमेत नउठाउने गरेको आरोप लगाएका छन्।
“मेला सकिएको छैन, तर काम लगाएर पैसा दिने कुरा टार्दै फोनसमेत नउठाउने क्रम बढेको छ,” एक कलाकारले असन्तुष्टि व्यक्त गरे।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पश्चिम नवलपरासीद्वारा निर्माणाधीन ‘लोक सांस्कृतिक संग्रहालय’ सहयोगार्थ यो महोत्सव आयोजना गरिएको हो। तर, महोत्सवको व्यवस्थापन पक्षले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। आयोजक समितिका प्रतिनिधिहरूलाई सम्पर्क गर्दा उनीहरूले प्रतिक्रिया दिन अस्वीकार गरेको बताइएको छ।
स्थानीयहरूले मेला सञ्चालनमा पारदर्शिता र श्रमिकप्रति सम्मानको कमी देखिएको भन्दै आलोचना गरेका छन्।
“संस्कृति र परम्पराको नाममा श्रमिक शोषण हुनु लाजमर्दो कुरा हो,” एक स्थानीयले प्रतिक्रिया दिए।
त्यस्तै, पीडित कलाकारहरूले आफ्नो पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्दै चेतावनी दिएका छन् — “यदि हाम्रो हक पूरा भएन भने, मेला सकिनु अघि नै हामी सामूहिक रूपमा आवाज उठाउँछौं।”
यसैबीच, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पश्चिम नवलपरासीकी अध्यक्ष श्यामकला भण्डारीले सम्पर्क गर्दा भनिन् — “हामीले सम्पूर्ण जिम्मा ठेकदारलाई दिएका छौं, त्यस विषयमा म आफैं जानकार छैन।”
तर, सो प्रतिक्रियालाई स्थानीय र सहभागीहरूले गैरजिम्मेवार ठानेका छन्। उनीहरूका अनुसार, “महोत्सव सञ्चालनमा कसले जिम्मा लिने र कलाकारहरूले पारिश्रमिक कसरी पाउने भन्ने विषय अहिले पूर्ण रूपमा अन्योलमा परेको छ।”