नवलपरासी । स्वतन्त्र पत्रकार संघ नेपाल, रुपन्देही शाखाको छैठौं जिल्ला अधिवेशनबाट प्रेम बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। आइतबार रुपन्देहीमा सम्पन्न अधिवेशनले बुढाथोकीको नेतृत्वमा ९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।
अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा भागवत भट्टराई र दर्पण पोष्ट डट कमका संवाददाता प्रिया अधिकारी चयन भएका छन् । त्यसैगरी, सचिवमा सुधीर ठाकुर, सह-सचिवमा गोविन्द आचार्य र कोषाध्यक्षमा सरु वाग्ले निर्वाचित हुनुभएको छ। कार्यसमिति सदस्यहरूमा इज्जत कडेल, रमेश शर्मा र सुनिल खनाल रहनुभएको छ।
संघका अनुसार राष्ट्रिय पार्षद तर्फ विरेन्द्र पाण्डे, राजेन्द्र जंग रायमाझी, चक्रपाणि डुम्रे, शीतल दर्नाल र अनिल पहाडी चयन हुनुभएको छ।
निर्वाचन मण्डलका संयोजक एवं स्वतन्त्र पत्रकार संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष राजेन्द्र जंग रायमाझीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले पत्रकारहरू कुनै पनि राजनीतिक दलमा आबद्ध नभई पूर्ण रूपमा स्वतन्त्र हुनुपर्ने र समाजका ‘आवाज विहीनहरूको आवाज’ बन्नुपर्नेमा जोड दिनुभयो।
नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक क्षमता विकास र स्वतन्त्र पत्रकारिताको प्रवर्द्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।