सुनवल महोत्सव पारिश्रमिक विवादमा मेला व्यवस्थापन कम्पनीको प्रतिक्रिया :“हामीले पारिश्रमिक दिइसकेका छौं”

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल–१३, बडेरा सुन्दरबस्तीमा जारी तेस्रो लोक सांस्कृतिक, धार्मिक पर्यटन तथा व्यापार महोत्सव पारिश्रमिक विवादमा नयाँ विवरण सार्वजनिक हुँदैछ। कलाकार, सुरक्षाकर्मी र वाद्यवादकहरूले पारिश्रमिक नपाएको गुनासो सार्वजनिक गरेपछि मेला व्यवस्थापन कम्पनीले आफूहरूले तोकिएको भुक्तानी गरिसकेको दाबी गरेको छ।  महोत्सवको सम्पूर्ण व्यवस्थापन पाएको ‘जय माता दी एम्यूजमेन्ट एण्ड म्यानेजमेन्ट प्रा. लि.’ का मेला व्यवस्थापन राजवीर जायसवाल का अनुसार कम्पनीले सम्झौताअनुसारको सम्पूर्ण रकम चरणबद्ध रूपमा भुक्तानी गरिरहेको छ ।

उनका भनाइमा, “हामीले सम्झौताअनुसार प्रत्येक वाद्यवादक र कलाकारलाई तोकिएको दरमा पारिश्रमिक तिरेका छौं। केही रकम नगद, केही रकम ईसेवा मार्फत् पठाइएको हो। बाँकी रकम मेला सकिएलगत्तै बुझाइनेछ। कसैको पारिश्रमिक रोकिने स्थिति छैन।”

जायसवालका अनुसार, प्रत्येक वाद्यवादकलाई प्रतिदिन रु. २,२०० का दरले ६ दिनको ड्युटीअनुसार रु. १३,२०० दिने व्यवस्था गरिएको थियो। उनले भने, “महोत्सवमा सयौं व्यक्ति संलग्न छन्। यस्तो ठूला आयोजनामा केही रकम ढिलो बुझाउनुपर्ने अवस्था आउन सक्छ, तर सबैलाई पूरा रकम दिइन्छ। गलत बुझाइका कारण विवाद भएको हो।” वाद्यवादक टोलीका प्रमुख कमल गुरुङ ले भने विवादबारे विस्तृत प्रतिक्रिया दिएका छन्। उनका अनुसार, मेलामा वाद्यवादकको सम्पूर्ण जिम्मेवारी उनीकै काँधमा थियो र सम्पूर्ण हिसाब–किताब पनि उनीसँगै रहेको थियो।

गुरुङले भने, “मेलाको वाद्यवादक व्यवस्थापनको जिम्मा मेरो जिम्मामा थियो। सबै हिसाब–किताब र रकम बुझाउने प्रक्रिया पनि मसँगै हुँदै आएको थियो। म मेला व्यवस्थापन सँग निरन्तर सम्पर्कमा थिएँ र चरणबद्ध रूपमा रकम बुझ्दै गएको पनि प्रमाण छ। तर, केही साथीहरूले मलाई जानकारी नगराई सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्नु गलत भयो। उनीहरूले यदि कुनै गुनासो थियो भने, पहिलो कुरा मलाई भन्नु पर्थ्यो। मैले पनि मेला व्यवस्थापन सँग सोधेर समाधान गर्न सक्थें। यसरी एकपक्षीय रूपमा भिडियो सार्वजनिक गरेर गलत सन्देश दिनु उचित होइन। हामी सबै एउटै टोलीका सदस्य हौं। मेला अझै सकिएको छैन। बाँकी रकम पनि प्रक्रिया अनुसार आउँछ। म मेला व्यवस्थापन पक्षसँग नियमित सम्पर्कमा छु र उनीहरूले बाँकी रकम बुझाउने आश्वासन दिएका छन्। त्यसैले अनावश्यक हल्ला र आरोपले हाम्रो टोलीको प्रतिष्ठामा आँच आउनु हुँदैन।”

 

 

मेला व्यवस्थापन कम्पनीका प्रतिनिधिले भने, “कसैको पारिश्रमिक रोकिने स्थिति छैन, गलत बुझाइका कारण विवाद सिर्जना भएको हो,” भन्दै सबैलाई गलत प्रचारमा नलाग्न आग्रह गरेका छन्। उनका अनुसार, कम्पनीले सबै हिसाब पारदर्शी राखेको छ र आवश्यक कागजात पनि उपलब्ध छन्।

यस विषयमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पश्चिम नवलपरासीकी अध्यक्ष श्यामकला भण्डारी ले पनि आफ्नो विस्तृत धारणा सार्वजनिक गरेकी छन्। “हामीले सम्पूर्ण जिम्मेवारी मेला व्यवस्थापन कम्पनीलाई दिएको थियौं। सम्झौताअनुसार उनीहरूले सम्पूर्ण व्यवस्थापनको जिम्मा पाएका हुन्। पारिश्रमिक नदिएको भन्ने कुरा पूर्ण रूपमा गलत र भ्रम फैलाउने हो। हाम्रो प्रतिष्ठान सधैं कलाकार, वाद्यवादक र श्रमिकको अधिकारका पक्षमा उभिँदै आएको छ। अहिले केही व्यक्तिहरूले सामाजिक सञ्जाल र अडियोमार्फत हल्ला फैलाइरहेका छन्। यस्तो कार्यले कलाकार र व्यवस्थापनबीच अविश्वास सिर्जना गर्छ, जसले भविष्यमा यस्ता सांस्कृतिक गतिविधिलाई नोक्सान पुर्यािउँछ। हाम्रो हिसाब–किताब पूर्ण रूपमा पारदर्शी छ। बाँकी भुक्तानीहरू पनि प्रक्रिया अनुसार भइरहेको छ। यस्तो झुठा प्रचार गर्नेहरूमाथि कानुनी कारबाहीको तयारी भइरहेको छ।”

सुनवलका स्थानीयहरू भने यो विवादले महोत्सवको उद्देश्य र सांस्कृतिक एकतालाई प्रभावित पारेको बताउँछन्।

सुनवल महोत्सवले यस वर्ष पनि ठूलो जनसहभागिता र सांस्कृतिक उत्साह देखाएको छ। तर, पछिल्लो पारिश्रमिक विवादले कार्यक्रमको व्यवस्थापन र पारदर्शिताबारे प्रश्न उठाएको छ। अब सबैको ध्यान मेला व्यवस्थापन कम्पनी, वाद्यवादक टोलीका प्रमुख र आयोजक प्रतिष्ठानले गर्ने अन्तिम भुक्तानी विवरण सार्वजनिकतर्फस लागेको छ।

स्थानीयहरू आशावादी छन्  मेला सकिएपछि सबै पक्षबीच स्पष्ट संवाद र सहकार्य भयो भने यो विवाद पनि सहमतिको माध्यमबाट टुंगिनेछ।