जेन–जी प्रदर्शनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ ।
आयोगले विशेषगरी २३ र २४ गते भएका घटनाहरूको विस्तृत अध्ययन तथा तथ्य अन्वेषण गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो । आयोगका सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्माकाअनुसार प्रतिवेदनमा घटनाका आधारमा आवश्यक कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ । आयोगले तयार पारेको मुख्य प्रतिवेदन करिव ९ सय भन्दा बढी पृष्ठको रहेको छ । अनुसूची र अन्य प्रमाणसहित सम्पूर्ण दस्ताबेज करिव ८ देखि १० हजार पृष्ठको रहेको शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिवेदनमा २३ र २४ गतेका घटनाहरूलाई मसिनो रूपले विश्लेषण गरिएको छ । जाँचबुझका क्रममा आयोगले २ सय भन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरेको थियो । यसका साथै विभिन्न व्यक्तिहरूको बयान कागज गराइएको, साक्षी, पीडित र विशेषज्ञहरूसँग राय सुझाव लिएर विस्तृत रूपमा काम गरिएको आयोगले जनाएको छ ।
उहाँले भन्नुभयो, ‘प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरूको तथ्य अन्वेषण गर्ने प्रयास गरेका छौँ । हामीले देखेका, बुझेका र प्रमाणका आधारमा राय सुझाव दिएका छौँ । अब यो सम्पत्ति सरकारको भयो, सरकारले यसको आवश्यक कारबाही गर्नुपर्ने, पुरस्कृत गर्नुपर्ने के गर्नुपर्ने हो अब सरकारले गर्छ ।’
प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले आयोगलाई धन्यवाद दिनुभएको सदस्य शर्माले बताउनु भयो । प्रधानमन्त्रीले प्रतिवेदन अब सरकारको सम्पती भएको र यसमाथि सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाउनुभएको पनि शर्माले बताउनु भयो ।