
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा आएको भिडियोको आधारमा धारणा बनाउन नहुने बताउनुभएको छ ।
सभापतिको घरमा रकम कहाँ र कसरी आयो भन्ने कुराको जवाफ की बुढानीलकण्ठ दिनुपर्ने की सरकारले नै अनुसन्धान गर्नुपर्ने उहाँको भनाई छ । जेन—जी आन्दोलनको क्रममा क्षति पुगेको नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकन पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै महामन्त्री शर्माले सबै नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने समेत बताउनु भयो । उहाँले विगतमा धरै राजनीतिक परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा भएपनि जेन—जी पुस्ताको आन्दोलनले काँग्रेसलाई नै परिवर्तन हुन सन्देश दिएको बताउनु भयो । उहाँले सरकारी संरचनादेखि व्यवपारिक प्रतिष्ठानहरुको आगजनी र तोडफोड जेन—जीको भावना अनुरुप नभएको बताउनु भयो । महामन्त्री शर्माले आफुहरु शान्तिपूर्ण आन्दोलनमा रहेको र तोडफोड, आगजनी गर्ने कारवाही गरियोस् भन्ने कुरा जेन—जी पुस्ताबाटै आउनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले घाइते अवस्थामा रहेको संविधानलाई जोगाउन पनि फागुन २१ म प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताउनु भयो । राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना, स्थानीय पालिकाहरुलाई निर्वाचनकै माध्यमबाट रिफ्रेस गर्न सकिने उहाँको भनाई छ । महामन्त्री शर्माले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन काँग्रेसले सहयोग गर्ने समेत बताउनु भयो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता काँग्रेसले खोज्ने उहाँले उल्लेख गर्नुभयो । मन्त्रीपरिषद्मा योग्य व्यक्तिहरु आउँदै गर्दा जेनजी युवाको प्रतिनिधित्व हुन नसकेकोमा महामन्त्री शर्माले असन्तुष्टि व्यक्त गर्नुभयो ।
महामन्त्री शर्माले पार्टीको नियमित महाधिवेशन मंसिर मसान्तभित्र गर्नुपर्ने मत बलियो रहेको बताउनु भयो । नियमित महाधिवेशन हुन नसकेको अवस्थामा केन्द्रिय कमिटीले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको समेत उहाँले उल्लेख गर्नुभयो । महामन्त्री शर्माले समयमै उठेका स्वरहरुलाई नसुन्दा ग्रेसफुल ऐक्जिटबाट नेताहरु फोर्सफुल ऐक्जिटलाई पुगेको जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति र कांग्रेसको स्वास्थ्य अवस्था दुबैलाई ठिक बनाउने समेत बताउनु भयो ।
महामन्त्री शर्माले फरक–फरक विचारलाई समेत सम्बोधन हुने गरी केन्द्रिय समितिको बैठक मार्फत साझा धारणा बनाउने बताउनु भयो ।