१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपाल ट्रेड युनियन कांग्रेसद्वारा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइयो

 नवलपरासी । ‘आन्तरिक रोजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्ध राष्ट्रको निर्माण’ भन्ने मूल नारासहित नेपाल ट्रेड युनियन कांग्रेसले आज देशभर १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी भव्य रूपमा मनाएको छ।

नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला शाखा पश्चिम नवलपरासीले सुनवलमा श्रमिक दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देव करण कवलार (सन्तु) प्रमुख अतिथि रहेका थिए भने सभापतित्व नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञान हरि अर्यालले गर्नुभएको थियो।

श्रमिक दिवस सन् १८८६ को मे १ मा अमेरिकाको शिकागो शहरमा श्रमिकहरूले आठ घण्टा कार्यदिवसको माग गर्दै आन्दोलन चलाएको घटनालाई सम्झनामा मनाइन्छ। त्यही संघर्षको परिणामस्वरूप आज विश्वका अधिकांश देशहरूमा श्रमिक दिवस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मनाइन्छ। यो दिन श्रमिक वर्गको संघर्ष, योगदान र अधिकारको सम्मानस्वरूप विविध कार्यक्रम गरी मनाउने गरिन्छ।

शुभकामना मन्तव्य दिँदै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कवलार (सन्तु) ले लोकतन्त्रभित्र मात्रै श्रमिक वर्गका हकअधिकार स्थापित र सुरक्षित गर्न सकिने धारणा राख्नुभयो। उहाँले लोकतान्त्रिक मूल्य र प्रणालीले मात्र श्रमिक वर्गलाई न्याय र अवसरको पहुँच दिलाउन सक्ने उल्लेख गर्दै भने, “श्रमिकको हित सुनिश्चित नगरी कुनै पनि मुलुकको दिगो विकास सम्भव हुँदैन।”

मन्त्री कवलारले देशको निर्माण र विकासमा श्रमिकको भूमिका आधारशिला सरह रहेको उल्लेख गर्दै श्रमिकवर्गका पीडा, माग र आवश्यकता सरकारको प्राथमिक सरोकार बन्नुपर्नेमा जोड दिनुभयो। “म स्वयं श्रमिकका समस्यालाई आफ्नै व्यक्तिगत समस्या सरह लिन्छु,” उहाँले भन्नुभयो, “श्रमिकका जायज माग र हक सुनिश्चित गर्न म कुनै पनि मन्त्रालय, निकाय, वा संघसंस्थासँग सहकार्य गर्न सधैं तयार छु।”

उहाँले श्रमिकका मुद्दाहरूमा गम्भीर ढंगले ध्यान दिँदै, आगामी नीति निर्माण, बजेट विनियोजन तथा कानुनी संरचनामा श्रमिकमैत्री व्यवस्था लागू गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “श्रमको सम्मान नगरी समृद्ध राष्ट्रको परिकल्पना अधूरो रहन्छ,” मन्त्री कवलारले भने, “तसर्थ सबै राजनीतिक दल र सरकारी निकायले श्रमिकको आवाजलाई प्राथमिकतामा राख्न जरुरी छ।”

कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञान हरि अर्यालले श्रमिक वर्गको आत्मसम्मान र एकताको महत्वमा विशेष जोड दिनुभयो। उहाँले एक मजदुरले अर्काे मजदुरलाई सम्मान गर्नु अहिलेको आवश्यकताको पहिलो सर्त भएको स्पष्ट पार्नुभयो। “सम्मान बिना श्रमिकको मुक्ति सम्भव छैन,” उहाँले भन्नुभयो, “श्रमलाई सम्मान नगरी श्रमिकको अधिकार स्थापित हुँदैन।”

उहाँले वर्तमान अवस्थामा पनि मजदुरहरू न्यूनतम पारिश्रमिक नपाउने, समान काममा फरक तलब पाइरहेका, काम गरेबापत पारिश्रमिक समयमै नपाउने, सामाजिक सुरक्षाको पहुँचबाट टाढा रहेको, श्रमिकको बीमा व्यवस्था कमजोर रहेको, जस्ता गम्भीर समस्याहरू रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

“यस्ता समस्याहरू केवल संगठनमा आवद्ध भएर मात्र समाधान हुँदैन,” उहाँले थप भन्नुभयो, “सबै श्रमिक एकजुट भई साझा आवाज उठाउने र दबाब सिर्जना गर्ने दिशामा अगाडि बढ्न जरुरी छ।”

अध्यक्ष अर्यालले श्रमिक अधिकार सुनिश्चित गर्न राज्य, निजी क्षेत्र, ट्रेड युनियन र स्वयं श्रमिकबीच सशक्त समन्वय हुनुपर्नेमा पनि जोड दिनुभयो। उहाँले आगामी दिनमा श्रमिक आन्दोलनलाई अझ संस्थागत, सशक्त र प्रभावकारी बनाउने अभियानमा सबैले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो।

May be an image of 2 people and text

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति अर्जुन पोख्रेल, वरिष्ठ नेता मोहन प्रसाद शर्मा, क्षेत्रीय सभापति माधव पाण्ड्य, महासमिति सदस्य अनिता शर्मा, महाधिवेशन प्रतिनिधि गुणनिधि तिवारी, उद्योग वाणिज्य संघ अध्यक्ष रमेश कर्माचार्य, प्रेस युनियन सभापति उमेश कुमार बी.क.लगायतले सहभागिता जनाएका थिए।

नेताहरूले श्रमिक अधिकारलाई चुनावी हतियार बनाउने प्रवृत्तिबाट दलहरू बाहिरिनुपर्ने चेतावनी दिँदै, बारम्बार दोहोरिने वाचा पूरा नगरेकोप्रति गम्भीर ध्यानाकर्षण गराएका थिए।

श्रमिकहरूप्रति शुभकामना व्यक्त गर्दै नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश सह-सचिव सदनराम गुप्ताले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला उपाध्यक्ष संजय श्रेष्ठले गर्नुभएको थियो ।