‘परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ’: ओली

झापाको सुदूर दक्षिणमा अवस्थित गौरीगञ्जसँग नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको साइनो आधा शताब्दीभन्दा पुरानो छ । २०२६ सालदेखि सङ्गठन विस्तारमा सक्रिय ओलीले गौरीगञ्जको बदलिँदो स्वरूपलाई ‘सेल्फी रोड’ को संज्ञा दिँदै यहाँका पूर्वाधार, सामाजिक सुरक्षा र डिजिटल पहुँचलाई समृद्धिको नमुनाका रूपमा प्रश्तुत गर्नुभएको छ । उहाँले विकासलाई केवल बाटो र पुलमा मात्र सीमित नराखी शिक्षा र अन्धविश्वास विरुद्धको चेतनासँग जोडेर नयाँ बहसको शुरुवात गर्नुभएको छ ।

हुलाकी राजमार्गः विकासको मेरुदण्ड
सांसद र प्रतिपक्षमा रहँदा लेराको पुलका लागि मैले गरेको अथक मागलाई धेरैले जिस्क्याउने विषय बनाएका थिए । तर जब हामीले मेचीदेखि महाकालीसम्मको हुलाकी बाटोलाई हुलाकी राजमार्गका रूपमा विकास गर्ने संकल्प गर्यौँ, तब लेराको पुलको गीत गाइरहनु परेन, त्यो आफैँ बन्यो। अहिले कन्काई र कमलाका पुलहरूमा देखिएका केही प्राविधिक र इन्जिनियरिङ त्रुटिहरूलाई सुधार गर्दै पुनर्निर्माणको प्रक्रिया अघि बढेको छ। विकासका काममा ठेकेदार वा इन्जिनियरको कमजोरीले केही ढिलाइ भए पनि हामी काम पूरा गर्ने लक्ष्यमा दृढ छौँ ।

‘सेल्फी रोड’ देखि आधुनिक पुलसम्मको यात्रा
वि.सं. २०२६–२७ सालको गौरीगञ्ज र आजको गौरीगञ्जमा आकाश–पातालको फरक छ। आज यहाँका चिल्ला सडकहरू ‘सेल्फी रोड’ जस्तै सुन्दर बनेका छन् । देउरियाको पुरानो काठे पुल विस्थापित भई बम्बे चौडा जस्ता आधुनिक र पक्की पुलहरू निर्माण भएका छन् । पहिले यहाँ पक्की बाटो र पुलको परिकल्पना गर्नु पनि कठिन थियो तर आज ती यथार्थमा बदलिएका छन् ।

सञ्चार क्रान्ति र डिजिटल पहुँच
एउटा समय थियो जब गाविसले एक लाइन टेलिफोन पाउन निवेदन दिनुपथ्र्यो । आज त्यो अवस्था इतिहास बनेको छ । अहिले गौरीगञ्जका नागरिकको हात–हातमा मोबाइल र ४जी इन्टरनेट सेवा पुगेको छ । हामी यस्तो ठाउँमा पुगेका छौँ जहाँबाट संसारसँग जोडिन र विश्वको जानकारी लिन सम्भव भएको छ । विद्यालय, क्याम्पस भवनदेखि खानेपानीका ट्याङ्कीसम्मका पूर्वाधारले गाउँको मुहार फेरिएको छ ।

सामाजिक सुरक्षाः राज्यको अभिभावकत्व
वि.सं. २०५१ सालमा हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्तालाई ४ हजार पुर्याएर ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानजनक जीवनयापनको आधार दिएका छौँ। राज्यको ३७–३८ अर्ब रकम यस क्षेत्रमा खर्च भइरहेको छ । हामीले सडक बालबालिकामुक्त अभियान र पछाडि परेका समुदायको उत्थानका लागि ठोस प्रयासहरू जारी राखेका छौँ ।

सामाजिक सद्भाव र राष्ट्रिय एकता
देश बनाउन जात, थर वा गोत्रले होइन, विचार, दृष्टिकोण र योजनाले सम्भव हुन्छ । मधेसी र पहाडीबीचको कृत्रिम विभाजन हटाएर सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्छ । लहैलहै र फेसनका आधारमा होइन, सही पार्टी र नीतिका आधारमा देशलाई समृद्ध बनाउन सकिन्छ। विभाजनले होइन, एकताले मात्र देशको विकास सम्भव छ ।

गरिबी र संस्कृति बीचको भिन्नता
गुइँठा बाल्नु, जाडोमा न्यानो कपडा नहुनु वा फुसको छाप्रोमा बस्नु हाम्रो संस्कृति होइन, यो गरिबी र पछौटेपन हो । हामीले संस्कृति बचाउनुपर्छ तर गरिबी हटाउनुपर्छ । अब गुइँठाको साटो बिजुली र आफ्नै देशमा उत्पादन हुने ग्यास पाइपबाट घर–घर पु¥याउने दिशामा हामी अघि बढ्नुपर्छ। बयलगाडाको युग सकिएर अब चिल्ला सडकमा गाडी दौडिने समय आएको छ । संस्कृति बचाउनुपर्छ तर गरिबी र पछौटेपन हटाउनुपर्छ ।

अन्धविश्वास र सामाजिक कुरीति
हाम्रो समाजमा अझै पनि बोक्सी जस्ता अन्धविश्वास कायम रहनु दुःखद् छ । कोही पनि बोक्सी हुँदैन, यो केवल पछौटेपन र भ्रम मात्र हो । यस्ता कुप्रथालाई जरैदेखि उखेल्नुपर्छ । तन्त्र–मन्त्र र अन्धविश्वासमा अल्झिएर आजको आधुनिक समाज अगाडि बढ्न सक्दैन । मेरो विरुद्ध कसैले तन्त्र–मन्त्र गर्छ भने गरे हुन्छ, म डराउन्न ।

शिक्षाः विकासको बलियो आधार
छोराछोरीलाई अनिवार्य रूपमा शिक्षित बनाउनु नै गरिबी निवारणको सबैभन्दा प्रभावकारी अस्त्र हो। आजका बालबालिकालाई डाक्टर, इन्जिनियर र वकिल बनाउन सके १५–२० वर्षमा गरिबी स्वतः हट्छ। निःशुल्क पाठ्यपुस्तक, खाजा र विद्यालय भवनको व्यवस्था राज्यले गरिरहेको छ, अब अभिभावकहरूले छोराछोरीलाई विद्यालय पठाउने संकल्प गर्नुपर्छ ।

युवा र सचेत नागरिकको दायित्व
युवाहरूले भ्रमको पछाडि लाग्नु हुँदैन । गलत सङ्गतले मानिसलाई गलत ठाउँमा पु¥याउँछ । लागुपदार्थ र गाँजा जस्ता कुलतबाट युवा पुस्ता जोगिनुपर्छ । आफ्नो देशलाई सुन्दर र सम्पन्न बनाउन युवाहरूको भूमिका निर्णायक हुन्छ । अधिकारको सही प्रयोग (भोट) गरेर मात्र समृद्ध नेपालको जग बसाल्न सकिन्छ ।

समृद्धिको संकल्प
परिवर्तन आगो लगाएर होइन, निर्माण गरेर हुन्छ । भूकम्पपछिको पुनर्निर्माण र हावाहुरी पीडितलाई आवास निर्माणमा हामीले विश्वमै नमूना काम गरेका छौँ । नेकपा (एमाले) ले सरकारको नेतृत्व गर्दा देशको शिर अन्तर्राष्ट्रिय स्तरमै उच्च भएको छ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा यहाँहरूको निरन्तर साथ रहनेछ भन्ने विश्वास लिएको छु ।