
ललितपुर । रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजले नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
शनिबार ललितपुरको हिमालयन होटलमा आयोजित कार्यक्रममा ढाँटलाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो। आपसी समझदारीमा सम्झौतामा तीन वर्षसम्म निरन्तरता दिन सकिने व्यवस्था गरिएको छ। सम्झौतापत्रमा रोहिणीका मार्केटिङ डाइरेक्टर दया थापा र ढाँटले हस्ताक्षर गरेका थिए।
‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले खेलेका १० मध्ये नौ एमएमए खेलमा विजयी भएका छन्। उनले हालै भारतको नोएडामा सम्पन्न एमएफएन–१७ मा भारतकै नम्बर वान चुंग्रेन कोरेनलाई पराजित गर्दै बान्टमवेट उपाधि जितेका थिए।
सम्झौता कार्यक्रममा ढाँटले आफूलाई साथ दिएकोमा रोहिणीलाई धन्यवाद दिँदै भने, “मैले बोल्न भन्दा बढी फाइट गर्न सिकेको हुँ। मेरो यात्रामा साथ दिनुभएकोमा रोहिणीलाई धेरै धेरै धन्यवाद।”
मार्केटिङ डाइरेक्टर थापाले ढाँटसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताए। “उहाँले गरेको फाइट देशकै लागि हो। यस्तो व्यक्तित्वलाई ब्रान्ड एम्बेसडर बनाउन पाउँदा हामी हर्षित छौँ,” उनले भने।
कार्यक्रमका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका थिए। उनले सम्झौतामा संलग्न दुवै पक्षलाई बधाई दिँदै ढाँटको विजयी यात्राले नेपाललाई गौरवान्वित बनाएको उल्लेख गरे।
सोही अवसरमा रोहिणीका कार्यकारी निर्देशक श्याम भण्डारीले ढाँटलाई नेपालको झन्डा ओढाएर सम्मान गरे। उनले ढाँटलाई “नेपालमा बन्दै गरेको हिरा” अभिव्यक्त गर्दै आगामी दिनमा उनी अन्तर्राष्ट्रिय स्तरमा अझ चम्किलो बन्ने विश्वास व्यक्त गरे।
ढाँटका प्रशिक्षक तथा मेन्टर दिविज पिया लामाले एमएमए यात्राको सुरुआतमा ब्रान्ड एम्बेसडर बन्ने कल्पना पनि नगरेको भन्दै, रोहिणीको समर्थनले नेपाली खेलाडीहरुलाई थप प्रेरणा मिल्ने बताए।
रोहिणी इन्टरनेशनल बारे
रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेज नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर दिलाउन समर्पित संस्था हो। शिक्षा, मार्गदर्शन र सामुदायिक पहलमार्फत यस संस्थाले नयाँ पुस्तालाई उत्कृष्टता हासिल गर्न निरन्तर प्रेरित गर्दै आएको छ।