मापदण्ड विपरीत गाईगोरु ढुवानी गर्ने मिनि ट्रक नियन्त्रणमा

नवलपरासी ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले मापदण्ड विपरीत ढुवानी गरिँदै गरेको १३ गाई र ५ गोरु सहित एक मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, मिति २०८१ साल चैत ३ गते बिहान ४:५५ बजे सुनवल नगरपालिका-१२ हरकट्टा क्षेत्रको भित्री सडकखण्डमा रुपन्देहीबाट हेटौंडातर्फ गइरहेको बागमती प्रदेश ०३-००१ ख ३४७५ नम्बरको मिनि ट्रकलाई रोकि जाँच गर्दा गाईगोरुलाई निर्दयी रूपमा ओसारपसार गरिएको पाइएको थियो।

प्रहरीले उक्त ट्रकका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी निवासी ४१ वर्षीय तिलक बहादुर गुरुङ र सहचालक रुपन्देही रोहिणी गाउँपालिका-६ पकडिहवा निवासी ५० वर्षीय करिम बन्जरालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबै जनालाई सम्मानित नवलपरासी जिल्ला अदालतबाट पशुपंक्षीसम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको गाईगोरुलाई सुनवलस्थित गौशालामा पठाइएको छ। पक्राउ परेका ब्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक बीर दत्त पन्त ले जानकारी दिएका छन् ।