घोराही उपमहानगरको मेयरमा गणेश वेलवासेको स्वतन्त्र उम्मेदवारी घोषणा

दाङ । सामाजिक तथा धार्मिक अभियन्ता, नेपाली चलचित्रका अभिनेता, निर्देशक तथा निर्माता गणेश वेलवासेले आगामी स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

घोराहीस्थित लिटिल फरेस्टमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै घोराही उपमहानगरभित्र रहेका १९ वटै वडाका नागरिकका समस्या समाधान गर्दै समृद्ध नगर निर्माण गर्ने लक्ष्यका साथ निर्वाचनमा होमिएको बताए।

वेलवासेले आफू लामो समयदेखि दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र रूपमा नगरवासीको सेवामा सक्रिय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको विश्वास र सुझावलाई आधार बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राख्ने बताए। विगतदेखि नै यी क्षेत्रमा अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै जनताको आवश्यकताअनुसार योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाए।

वेलवासेले घोराहीलाई समृद्ध, व्यवस्थित र नागरिकमैत्री उपमहानगरका रूपमा विकास गर्न आफूले स्पष्ट योजना र इमानदार नेतृत्व प्रस्तुत गर्ने दाबी गरे।