‘स्टन्टबाजी’ को भ्रम चिरेर चुनावी मैदानमा होमिन संयोजक दाहालको निर्देशन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभयो । पूर्वप्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार जहाँ पहिला त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको छ । नयाँ स्थानहरूमा भ्रम दिन सजिलो हुने भएपनि जनताले नेताहरूको काम र क्षमताको मूल्याङ्कन गरिसकेको उहाँको भनाइ छ । दाहालले उपत्यका लगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रम मुक्त भइसकेको दाबी गर्नुभयो । जहाँ जनताले अझै कुरा बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको भन्दै उहाँले कम्युनिष्ट कार्यकर्ताहरूलाई ती भ्रमहरूलाई तर्कद्वारा चिर्न आग्रह गर्नुभयो । राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको दाहालको तर्क छ । आज सिंगो राष्ट्र यही विचारमा सहमत भएको भन्दै उहाँले यसलाई पार्टीको बुझाइको जितका रूपमा व्याख्या गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले के देखिराखेको छु भने अहिले सोसल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन । सोसल मिडियावाला, स्टन्टवाला भन्ने गरेका छौँ हामीले। पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओरालो छ । तपाईं उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन । नयाँ९नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ । भ्रम मुक्त भए यहाँ त, यहाँ लडेर त हेरे नि नेताहरूलाई के गरे के गर्न सक्दा रहेछन्, सक्दा रहेनछन् भन्ने हेरिसक्या हुनाले त्यस्ता ठाउँमा यी सब स्टन्टबाजहरू, यी हल्लाखोरहरू हुन् भन्ने बुझे जनताले । अब जहाँ बुझ्न पा छैनन् विचरा त्यहाँ चाहिँ फेरि त्यसको प्रभाव देखिएको छ । त्यसकारण त्यो प्रभावलाई पनि तर्कद्वारा खण्डन गरेर हामीले स्थापित गर्नु छ । सबै कमरेडहरू यो चुनौतीपूर्ण अवसर नेपाली कम्युनिष्ट पार्टीलाई प्राप्त छ । हामीले धेरै मेहनत गरेर अप्ठ्यारो बेलामा पनि हामीले यो देशलाई बचाउने हिसाबले, राजनीतिलाई सहजीकरण गर्ने हिसाबले भूमिका खेल्ने अवसर पायौँ, हामीले त्यो भूमिका खेल्यौँ र अहिले निर्वाचनतर्फ देश केन्द्रित छ। यद्यपि कतिपय पार्टीहरूले यो निर्वाचन नभइदिए हुन्थ्यो, निर्वाचन सारे हुन्थ्यो, संसद पुनस्र्थापना गरे हुन्थ्यो भन्ने पनि थिए अझै पनि भन्छन्। तर अब त्यो स्थिति छैन। हामीले जे भन्यौँ अहिलेको संकटपूर्ण स्थितिमा जनताको बीचमा गएर निर्वाचनमार्फत नयाँ जनादेश लिएर आउनु भन्दा वस्तुवादी र वैज्ञानिक कुरा अहिले नेपालमा केही पनि छैन भन्यौँ। आज सिङ्गै राष्ट्र यही विचारमा, हाम्रै बुझाइमा, हाम्रै मतमा आएको छ, हामी सबैको निम्ति खुसी र गर्वको कुरा हो। सबै कमरेडहरूले अब आउने २४९२५ दिन पूरै मेहेनत गरौँ र परिणामलाई एक नम्बरमा पुर्याउने संकल्प गरौँ, कसैले हामीलाई रोक्न सक्दैन ।’

संयोजक दाहालले आगामी २४–२५ दिन निकै महत्वपूर्ण रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई पूर्ण मेहेनतका साथ चुनावी परिणाम आफ्नो पक्षमा पार्न र पार्टीलाई एक नम्बर बनाउने संकल्प गर्न निर्देशन दिनुभयो । उहाँले चुनौतीपूर्ण अवसरलाई सदुपयोग गर्दै देश जोगाउने र राजनीतिलाई सहजीकरण गर्ने भूमिकामा पार्टी सधैँ अगाडि रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।