कविता
अहो !
ईश्वरको रचना पनि क्या अचम्मको !
खोला-खोली ,नदी-नाला ,थुम्का-थुम्की सबै पचाउँने
यो पेट कस्तो पेट ?
धर्म,भाषा ,संस्कार,संस्कृति,
पुर्खा-पाखा-पौरख-जागृति,
सबै वेचेर अट्टहास भर्ने,
अग्लिएको वेलुन जस्तो
यो पेट कस्तो पेट ?
विचार- विवेक ओराली लाग्दो ,
प्लटिङ्ले गुमेको उब्जनी जस्तो,
फूर्ति देखाउँने धतुरे जस्तो ,
गिदी नभएको चतुरे जस्तो ,
समुद्र सुकाउँने कर्मचारीजस्तो,
लाचारमाथि झन् कष्ट भर्ने,
चोरी-चकारी जुकाझै गर्ने,
सोझा र साजाको दैनिकी चुस्ने,
यो पेट ,कस्तो पेट ?
मजदुरको रोटी खोस्नलाई सक्ने,
तैँ चुप, मैँचुप गरेर डस्ने,
विषालु भन्दा विष हालु जस्तो ,
मानवता कुल्चने पिपासु जस्तो,
यो पेट कस्तो पेट ?
करुणा,दया,प्रेम भुलेको,
मै खाऊँ ,मै लाऊँ मात्र बुनेको,
भावविनाको भिखारी जस्तो,
अस्मिता लुट्ने ,शिकारी जस्तो ,
यो पेट कस्तो पेट ?
हरिया वन देख्न नहुने,
राष्ट्र,राष्ट्रियता लेख्न नहुने,
तोरीमा लडेका साँढेको जस्तो ,
तोरीमा चरे नी साँढेको जस्तो ,
यो पेट कस्तो पेट ?
माटो र पानी ढुङ्गा र खानी,
आचारमा भ्रष्ट ,क्यै छैन स्पष्ट ,
पचासदेखि मसाजसम्म ,
वडादेखि बडासम्म,
राजनीतिदेखि लाजनीतिसम्म,
चिरुवादेखि गेरुवासम्म,
यो पेट कस्तो पेट?
हावा जस्तै वहिरहेको,
आगो जस्तै दन्किरहेको ,
पानी जस्तै भल्किरहेको,
भान्सा यस्तो अमीरहरुको,
पासोमा सँधै न्याय परेको,
न्याय मार्ने!
न्याय लुछ्ने!
यो पेट कस्तो पेट ?