नवलपरासी। रुपन्देहीको देवदह नगरपालिका–८ मा रहेको गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिबार संस्थाको कार्यालयमा सम्पन्न भएको छ।
साधारण सभाका प्रमुख अतिथि देवदह सहकारी सञ्जालका अध्यक्ष जागेश्वर पङ्गेनीले पछिल्लो समय कतिपय सहकारी संस्थाले उपभोक्तालाई झुटो आश्वासन दिएर ठगी गरेका घटनाहरू सार्वजनिक भइरहेकाले सहकारीहरू नियम, कानुन र मूल्य–मान्यताअनुसार सञ्चालन भए–नभएको विषयमा कडा निगरानी आवश्यक रहेको बताउनुभयो। उहाँले सहकारीमार्फत सदस्यहरूले पाउने बचतको सुरक्षा, सहज ऋण पहुँच र वित्तीय सशक्तिकरण जस्ता पक्षहरूलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी नमस्ते लुम्बिनी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर कुंवरले शेयर सदस्य संख्या न्यून रहेका सहकारी संस्थाहरूलाई एकीकरण गरेर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
साधारण सभाको अवसरमा संस्थाले छात्रवृत्ति कार्यक्रम अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय र भुल्के माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको थियो।
सभामा विभिन्न रिक्त पदहरूमा मनोनयन दर्ता भई सर्वसम्मत रूपमा पदपूर्ति गरिएको छ। उपाध्यक्षमा लक्ष्मी क्षेत्री, सदस्यहरूमा भूमिसरा राना र खाम्चा मगर चयन भएका छन्। निर्वाचन मण्डलमा संयोजक विजयरत्न पराजुली, सदस्य रामबहादुर थापा र दुर्गा कुमारी पोखरेल रहनुभएको थियो।
वार्षिक साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गंगा बहादुर थापाले र लेखा प्रतिवेदन अर्जुन थापाले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष रमेश चन्द्र गैह्रेको अध्यक्षता, व्यवस्थापक केशव अधिकारीको स्वागत मन्तव्य तथा सचिव वाल्मिकी पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो।