अन्तराष्ट्रिय- चीनको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने चोङकिङ महानगरपालिकामा भीषण पहिरो जाँदा ठूलो भौतिक क्षति भएको छ । प्राकृतिक विपद्का कारण स्थानीय घरहरू पुरिएका छन् भने ती घरभित्र रहेका मानिसहरू फसिरहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षा र भौगोलिक जोखिमका कारण पहाडी क्षेत्रबाट खसेको पहिरोले बस्तीमा ठूलो असर पूर्याएको हो । पहिरोका कारण कति घर पुरिएका छन् र कति मानिस बेपत्ता छन् भन्नेबारे यकिन तथ्याङ्क आउन बाँकी रहे तापनि उद्धारकर्मीहरूले निकै चुनौतीपूर्ण अवस्थामा खोजी कार्य जारी राखेका छन् । घटनास्थलमा स्थानीय सरकारले सुरक्षाकर्मी, दमकल र आपत्कालीन चिकित्सा टोली परिचालन गरेको छ । पहिरो प्रभावित क्षेत्रमा यातायात र सञ्चार सम्पर्क समेत अवरुद्ध भएको बताइएको छ । उद्धार टोलीले भग्नावशेषमा फसेका मानिसहरूलाई निकाल्न आधुनिक उपकरणहरूको प्रयोग गरिरहेको छ, यद्यपि प्रतिकूल मौसम र थप पहिरो खस्न सक्ने जोखिमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
