
काठमाडौँ । हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाली सेनाले गहिरो दुःख प्रकट गरेको छ। मंगलबार एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका हुन्।
प्रधानसेनापति सिग्देलले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गरेका छन्।
उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा सधैं पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेका छन्।
सिग्देलले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आम नागरिक र विदेशी कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्नु सम्पूर्ण नेपालीको साझा कर्तव्य भएको स्मरण गराए।
प्रधानसेनापतिको सम्बोधन
“नेपालमा हाल भइरहेको आन्दोलनका क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दछु। शोकसन्तप्त परिवारप्रति संवेदना र सहानुभूति प्रकट गर्दै घाइते बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना गर्दछु।
हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा अब थप क्षति हुन नदिन र राष्ट्रिय एकता, सद्भाव र शान्ति कायम राख्न सबै नेपालीको साझा दायित्व हुन्छ। राष्ट्रिय एवं ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आम नागरिक र मित्रराष्ट्रका कूटनीतिक नियोगहरूको सुरक्षामा सबै जिम्मेवार बन्नु आवश्यक छ।
यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण निकास दिन आन्दोलनरत समूहलाई आफ्ना कार्यक्रम स्थगन गरी वार्ताको लागि आउन हार्दिक आह्वान गर्दछु।”
प्रधानसेनापति सिग्देलले अन्त्यमा “जय मातृभूमि, जय देश” भन्दै सम्बोधन टुंग्याएका थिए।