राति १० बजेदेखि सेना–सुरक्षा निकाय सडकमा

काठमाडौँ । राजधानीसहित देशभर चर्किँदै गएको असन्तुष्टिपूर्ण गतिविधि र हिंसात्मक प्रदर्शन रोक्न नेपाली सेनाले कठोर कदम चाल्ने चेतावनी दिएको छ। सेनाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै राति १० बजेदेखि नेपाली सेना सहित सबै सुरक्षा निकाय सडकमा उत्रिने स्पष्ट गरेको हो।

प्रधानसेनापति अशोक राज सिग्देलको भिडियो सन्देश सार्वजनिक भइसकेपछि जारी विज्ञप्तिमा भनिएको छ, “हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट तथा आगजनी गर्ने कार्य गरिरहेका छन्। यस्ता गतिविधिहरु नगर्न/नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ।”

तर, यस्ता गतिविधि तत्काल नरोकिने अवस्था देखिएमा सेना तथा सम्पूर्ण सुरक्षा निकायले आफ्नो प्रमुख जिम्मेवारीअनुसार मुलुक र जनताको सुरक्षाका लागि प्रत्यक्ष रुपमा हस्तक्षेप गर्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा उल्लेख छ, “यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न २०८२ भाद्र २४ गते राति १० बजेदेखि दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछौँ। सम्पूर्ण राष्ट्रबासीलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौँ। तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिनेछ।”

नेपाली सेनाले हाल देखिएको असहज परिस्थिति शान्तिपूर्ण ढंगले समाधान गर्न सबैलाई आग्रह गर्दै नागरिक, सार्वजनिक सम्पत्ति तथा राष्ट्रिय सम्पदाको सुरक्षा सुनिश्चित गर्न सबैलाई जिम्मेवार बन्न आह्वान गरेको छ।