कांग्रेस महामन्त्री गगन थापाको घरमा जेन–जी आन्दोलनकारीको तोडफोड

काठमाडौं । जेन–जी आन्दोलनले राजधानीमा झन् आक्रामक रूप लिएको छ। सोमबार सरकारले गरेको दमनमा १९ जना आन्दोलनकारीको ज्यान गएपछि आक्रोशित युवाहरूले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा तोडफोड गरेका छन्।

थापाको काठमाडौं–रातोपुलस्थित निवासमा प्रदर्शनकारीहरूले गेट र झ्यालमा तोडफोड गरेका छन्। ठूलो संख्यामा जम्मा भएका आन्दोलनकारीहरूले नाराबाजी गर्दै घरलाई घेरेपछि प्रहरी परिचालन गरिएको थियो। घटनास्थलमा केही बेर तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ।

आन्दोलनकारीहरूका अनुसार शान्तिपूर्ण विरोध प्रदर्शनमा गोली चलाएर युवाको ज्यान लिने सरकारले राजनीतिक दलका नेताहरूलाई पनि त्यसको जिम्मेवारी लिनुपर्ने अवस्था आएको छ। उनीहरूले कांग्रेस नेतृत्वलाई समेत आन्दोलनमाथि भएको दमनप्रति मौनता र कमजोरी देखाएको आरोप लगाएका छन्।

सोमबार मात्रै विभिन्न ठाउँमा प्रहरीले गरेको हस्तक्षेपका कारण १९ जना युवाको मृत्यु भएको भन्दै आक्रोशित जनसमुदायले काठमाडौंका विभिन्न भागमा तोडफोड र प्रदर्शनलाई तीव्र पारेका छन्। प्रहरी प्रशासनले अवस्था नियन्त्रणमा लिन आंशिक कर्फ्यू लगाइएको भए पनि आन्दोलनकारीहरू सडकमा निरन्तर उत्रिरहेका छन्।

गगन थापाको घरमा भएको तोडफोडपछि प्रहरीले बल प्रयोग गरी भीडलाई नियन्त्रणमा लिन खोजे पनि ठूलो संख्यामा आन्दोलनकारी जुटिरहेकाले वातावरण केही समय अशान्त रह्यो। अहिले घर वरपर ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ।

जेन–जी आन्दोलनकारीहरूले आन्दोलन जारी रहने र “हत्या र दमनको जवाफ सडकमै दिने” चेतावनी दिएका छन्।