
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।
शाहले आजको मितिदेखि तत्काल प्रभावका साथ पदत्याग गरेको जानकारी दिँदै अब सडकमा उत्रेर जेनजी पुस्ता, नागरिक र सत्यका पक्षमा लड्ने घोषणा गरेका छन्।
उनले जारी गरेको राजीनामा वक्तव्यमा सरकारले जेनजी आन्दोलनमाथि गरेको दमन, शान्तिपूर्ण प्रदर्शनमा गोली प्रहारजस्ता अमानवीय कार्य तथा नागरिक अधिकारमाथि भएको हस्तक्षेपले आफूलाई संसदमा बसिरहन असम्भव बनाएको उल्लेख गरेका छन्।
“संसदमा बसेर चुप लाग्नु वा गलत नीतिलाई मौन समर्थन गर्नु पुस्ता र देशको भविष्यसँग विश्वासघात हुने भएकाले मैले पद त्यागेको हुँ,” शाहले बताएका छन्।
उनले संसद भवनको सुरक्षाभन्दा नागरिकको ज्यान ठूलो हुने स्मरण गराउँदै, अब सडकबाटै युवापुस्तासँगै आन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।