
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनलाई “इतिहासकै सर्वाधिक बर्बर” ठहर गर्दै प्रधानमन्त्री ओलीले पदत्याग गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार बैठकले आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ। साथै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ।
“ओली नेतृत्वको सरकार निरङ्कुश, स्वेच्छाचारी र अनैतिक छ, त्यसैले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ,” पुनले भने।