जेलबाटै आफ्ना सांसदलाई भने , ‘राजीनामा दिनुपर्ने हुन सक्छ, तयार रहनुहोस्’: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्खु कारागारबाटै आफ्ना सांसदहरुलाई संसदबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। सोमबार देशव्यापी प्रदर्शनका क्रममा १९ भन्दा बढी विद्यार्थीको ज्यान गएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

निजी सचिवालयमार्फत सार्वजनिक गरिएको लामो सन्देशमा लामिछानेले सरकारलाई “आततायी, क्रुर र हत्यारा” संज्ञा दिँदै अब यस्ता शासकलाई एक मिनेट पनि सत्तामा बस्न दिन नहुने बताएका छन्।

उनले भनेका छन्, “आफ्नै बिन्दास संसारमा रमाउने उमेरका Gen Z लाई सडकमा आउन कसले बाध्य पार्‍यो? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले। सिपालु सिकारीले चरा मारेझैँ यिनीहरूले स्कुले पोशाक लगाएका अबोध बालबालिकालाई गोली हानेर मारे।”

लामिछानेले देशलाई समाधान दिन चार बुँदे प्रस्तावसमेत अघि सारेका छन् :
१) सकेसम्म छिटो Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन।
२) ०४६ सालपछि भएका सबै नीतिगत निर्णयको समीक्षा र उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने आयोग गठन।
३) संविधान संशोधन वा पुनर्लेखनका लागि उच्चस्तरीय विज्ञ समिति गठन।
४) सोमबारको हत्याकाण्डबारे छानबिन गर्ने न्यायिक आयोग गठन र प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मको अनुसन्धान।

उनले सरकारमाथि कठोर आरोप लगाउँदै भने, “३८ वर्षसम्म देश लुटेका यिनीहरूको अनुहार अब निर्दोष बालबालिकाको रगतले राताम्य भइसकेको छ। यिनीहरू शासन होइन, दण्डका भागेदार हुन्।”

लामिछानेले आफ्ना सांसदलाई उद्दृत गर्दै थपे, “उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिनुपर्ने हुन सक्छ। तयार रहनुहोला।”

नक्खु कारागारबाट दिउँसो टेलिफोनमार्फत आफ्नो सन्देश पठाएका लामिछानेको सचिवालयले जानकारी दिएको छ कि भेटघाट बन्द गरिएको छ भने साँझ ५ बजेपछि टेलिफोन सम्पर्क पनि रोकिएको छ।