गोलीको जवाफमा सरकार, जनताको रगतमा खेलेको सत्ता : सांसद सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको आरोप लगाएकी छन्। सोमबार जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमनमा १९ जनाले ज्यान गुमाएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

सांसद गौतमले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शान्तिपूर्ण माग बोकेर सडकमा उत्रिएका युवामाथि सरकारले बन्दुक ठड्याएको भन्दै कडा शब्दमा आपत्ति जनाइन्। उनले भनिन्, “प्रदर्शनकारीलाई पछाडि हटाउन असंख्य वैकल्पिक उपाय हुँदाहुँदै सरकारले सिधै गोली चलायो। बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता होइन, कायरता हो।”

उनले सरकारलाई “हत्यारा सरकार” को संज्ञा दिँदै निर्दोष युवाको रगतको मूल्य एक दिन सरकारलाई चुकाउनुपर्ने चेतावनी दिइन्। गौतमका अनुसार कुनै राजनीतिक स्वार्थ नभई न्याय र समानताको मागसहित सडकमा उत्रिएका युवाहरूलाई सरकारले अभिभावकको भूमिका खेल्दै जोगाउनुपर्नेमा उल्टै गोली चलाउनु लोकतन्त्रको घोर अपमान हो।

सोमबारको घटनामा काठमाडौंमा मात्रै १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको छ भने ३४७ जना घाइते भएका छन्। आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच दिनभर झडप भएको थियो।

गौतमले युवापुस्ताले उठाएको आवाज genuine र न्यायपूर्ण भएको भन्दै सरकारसँग तत्काल संवादमा जान आग्रह गरिन्। उनले भनिन्, “जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो। अबोध युवामाथि गोली चलाउने सरकारलाई धिक्कार छ।”

यसअघि विपक्षी दलका नेताहरूले पनि सोमबारकै घटनालाई ‘नरसंहार’ संज्ञा दिँदै प्रधानमन्त्री र गृहमन्त्रीको मात्र राजीनामाले नपुग्ने, दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरिसकेका छन्।