
काठमाडौँ । जेनजी आन्दोलनको क्रममा काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको घटनापछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकारहरूसँग कुरा गर्दै आन्दोलनकारी युवापुस्ताको मागलाई सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको जानकारी दिएका हुन्। उनले भने, “सामाजिक सञ्जाल छिट्टै खुल्छन्, सरकार जेनजीको मागलाई सम्बोधन गर्दै अगाडि बढ्छ।”
गत बिहीबार रातिदेखि सरकारले फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युबसहित करिब दुई दर्जन सामाजिक सञ्जाल बन्द गरेको थियो। सरकारले ‘सूचीकरणमा नआएका र नियमन नभएका’ कारण देखाउँदै प्रतिबन्ध लगाएको थियो। तर प्रतिबन्धलगत्तै मुलुकभर विशेषगरी युवापुस्ताबीच व्यापक असन्तुष्टि उत्पन्न भएको थियो।
प्रतिबन्धको विरोध गर्दै जेनजी पुस्ताले काठमाडौंसहित विभिन्न शहरमा प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीसँगको झडपमा १९ जनाको मृत्यु र सयौं घाइते भएपछि आन्दोलन झनै उग्र बनेको थियो। यिनै घटनाले सरकारलाई दबाबमा पारेको विश्लेषण गरिएको छ।
प्रवक्ता गुरुङले सरकारले आन्दोलनलाई गम्भीरतापूर्वक लिएको र परिस्थितिलाई शान्तिपूर्ण बनाउने दिशामा कदम चालिरहेको बताए। उनका अनुसार, सामाजिक सञ्जाल खोल्ने मात्र नभई दीर्घकालीन रुपमा नियमन र सूचीकरणको प्रक्रिया अघि बढाइनेछ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रतिबन्ध हटाउन नसकिने अडान सार्वजनिक गरेका थिए। तर आन्दोलन चर्किएपछि सरकारभित्रै दबाब बढेको र कांग्रेस नेतृत्वसहितका गठबन्धन दलले पनि प्रतिबन्ध हटाउन आग्रह गरेपछि अन्ततः सरकारले निर्णय परिवर्तन गरेको देखिएको छ।
नागरिक समाज, विपक्षी दल र मानवअधिकारकर्मीहरूले प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै आलोचना गर्दै आएका थिए। सामाजिक सञ्जाल खोल्ने सरकारी निर्णयपछि केही शान्ति हुने अपेक्षा गरिए पनि आन्दोलनकारी युवाहरूले अझ ठोस राजनीतिक परिवर्तनको माग राखिरहेका छन्।