सुनवल–१ मा कांग्रेसको प्रथम वडा सम्मेलन, २८० भन्दा बढीको उपस्थिति

 

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सहकारी विभाग प्रमुख तथा पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले पार्टीभित्र सार्थकता र जनविश्वास स्थापित गर्न धैर्यता आवश्यक रहेको बताएका छन्।

 

शनिबार सुनवल नगरपालिका–१ मा सम्पन्न नेपाली कांग्रेसको प्रथम वडा सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता कण्डेलले घर-परिवार वा कुनै पनि संगठनले अग्रजहरूको मार्गदर्शन विना अघि बढ्न खोजेमा साझा लक्ष्यमा चुनौती आउन सक्ने धारणा राखे। उनले पार्टीमा अनुशासन, आन्तरिक एकता र नेतृत्वको मार्गनिर्देशनमा समर्पित भएर अघि बढ्न सबैलाई आग्रह गरे।

 

 

वडा सभापति सुबिन्द्र कवर योगीको सभापतित्वमा सुनवलस्थित सोमनाथ रिसोर्टको सभाहलमा सम्पन्न सम्मेलनमा कांग्रेसका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रममा महाधिवेशन प्रतिनिधि ऋषि पौडेल, नगर सभापति पप्पु रायमाझी, महिला संघ जिल्ला अध्यक्ष तारा भण्डारी, नगर तरुण दल अध्यक्ष तथा वडा अध्यक्ष पबिन गुरुङ, वडा नं. ७ का सभापति राजु के.सी. लगायत नेताहरूले मन्तव्य राखेका थिए।

 

नेताहरूले यसअघि गरिएको भनिएको दोस्रो अवैध वडा सम्मेलनले पार्टीलाई सुदृढ बनाउन नसक्ने भन्दै सबैलाई पार्टीको विधान र नीतिअनुसार चल्न आग्रह गरे। उनीहरूले संगठन सशक्त र एकताबद्ध बनाउने दिशामा यस्ता सम्मेलनले साकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 

सम्मेलनमा कांग्रेस क्षेत्र नं. २ का सचिव भरत पौडेल, क्षेत्रीय कोषाध्यक्ष तथा वडा अध्यक्ष कमल च्वाइ, ट्रेड यूनियन कांग्रेसका अध्यक्ष ज्ञानहरि अर्याल, वडा अध्यक्ष नेत्रलाल तिवारी, कांग्रेसका पूर्व जिल्ला सदस्य देवराज भण्डारी, महिला संघ नगर अध्यक्ष सिवानी घिमिरेसहित करिब २८० जना क्रियाशील सदस्यहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालक युद्धजङ्ग जिसीले जानकारी दिए।