
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा काठमाडौंको सुन्धारादेखि रत्नपार्कसम्म आयोजित राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र घोषणाको माग गर्दै आयोजित विशाल प्रदर्शनमा हजारौँको सहभागिता रह्यो। उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका युवा नेता बैकुण्ठ बजगाई र मधेश प्रदेशका युवा नेता आर.एन. साह (दिपेश) नेतृत्वको टोलीले संयुक्तरूपमा उपस्थिति जनाएका थिए।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कैलाली जिल्ला वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्व केन्द्रीय सदस्य बैकुण्ठ बजगाई र पर्सा जिल्ला अध्यक्ष एवं सोही संगठनका पूर्व केन्द्रीय सदस्य आर.एन. साह (दिपेश) ले आफ्ना टोलीसहित सक्रिय सहभागिता जनाउँदा प्रदर्शनमा उल्लेखनीय ऊर्जा थपिएको थियो।
दुवै प्रदेशका नेताहरू एउटै मञ्चमा उभिएपछि राप्रपाका भ्रातृ संगठनहरूबीच एकता र सहकार्यको नयाँ अध्याय प्रारम्भ भएको सहभागीहरूको भनाइ छ। देशभरका विभिन्न स्थानबाट आएका युवाहरू समूहगत रूपमा आन्दोलनमा सहभागी भइरहँदा आन्दोलनले झनै व्यापक रूप लिएको थियो।
बैकुण्ठ बजगाई र आर.एन. साह (दिपेश) को टोलीले हजारौँ समर्थकसहित प्रदर्शनमा दृढ रूपमा उभिएपछि आन्दोलनमा उत्साह र ऊर्जा थपिएको थियो। उनीहरूले आन्दोलन यहाँ रोकिने नभई निरन्तर जारी रहने बताएका छन्।
यस प्रकारको सक्रिय सहभागिताले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा जनमत निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।