
बुटवल, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले शुभकामना आदान प्रदान गरेर १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ । बुधबार पार्टी कार्यालय माझगाउँमा कार्यक्रम गरेर दिवस मनाइएको हो । यस अघि पार्टी निकट दलित मुक्ति मोर्चाले कार्यक्रम गर्दै आइरहेकोमा यस बर्ष देखि पार्टीकै आयोजनामा कार्यक्रम गर्न सुरु गरिएको सो पार्टीले जानकारी दिएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जनयुद्धको पहिलो शहिद दिल बहादुर रम्तेल दलित समुदायको भएको स्मरण गर्दै युगान्तकारी परिवर्तनको पहरेदार दलित समुदाय भएको बताए । जनयुद्धको समयमा माओवादीको नेतृत्वमा छुवाछुत विरुद्ध जनस्तरमा काम भएको र माओवादीकै पहलमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा भएको उनले बताए । नेता बरालले दलित समुदायलाई संविधानले अधिकार प्रदान गरेको पनि चेतना अभावका कारण अधिकारको प्रयोग हुन नसकेको बताए । दलित समुदायको शसक्तीकरणका लागि शिक्षा र आयआर्जनमा जोड दिनु पर्ने उनको भनाइ छ ।
माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज सोनिया यादवले छुवाछूत बिरुद्धको अभियान घरबाटै सुरु गर्नु पर्ने बताइन । आफु बच्चा हुँदा दलित समुदायको साथिहरुसंग हिड्दा आमाको गालि खाएको स्मरण गर्दै अहिले आमाले दलित समुदायका साथिहरुले पकाएको खाने गरेको बताइन । “आमालाई मानिसलाई विभेद गर्न हुँदैन भनेर सम्झाएँ आजभोलि आमाले दलित समुदायको साथिले पकाएको खानुहुन्छ” उनले भनिन ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य राम परियारले माओवादी नेतृत्व सधैँ सिमान्तकृत बर्ग क्षेत्र र समुदायको पक्षमा रहेको बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सदनमा जनसंख्याका आधारमा दलित‚ महिला‚ मुस्लिम लगायत सिमान्तकृत बर्ग क्षेत्र समुदायको प्रतिनिधित्व हुनु पर्ने बताएको उल्लेख गर्दै उनले माओवादी असल रुपमा सिमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने पार्टी भएको बताए । पार्टीका रुपन्देही जिल्ला संयोजक नारायण जिसी निर्मलले जातिय विभेद अन्त्य माओवादीको ऐजेण्डा भएका कारण पार्टीकै आयोजनामा कार्यक्रम गरिएको बताए । आगामी बर्ष अझ परिस्कृत तरिकाले कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।