नेपाल–जापान सामाजिक-सांस्कृतिक समानता प्रदर्शनी शुरु

नेपाल–जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा नेपाल-जापान सामाजिक-सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार-लगानी मेला शुरु भएको छ ।

नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीले संयुक्त रूपमा आयोजना गरेको मेला बिहीवारदेखि ललितपुरस्थित होटल हिमालयमा शुरु भएको हो । मेलाको जापान सरकारको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका निर्देशक तानाका काजुसीगि, नेपालका लागि जापानी राजदुत मायदा तोरु, चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । प्रदर्शनीले नेपाल र जापानबीच रहेका सांस्कृतिक तथा सामाजिक समानतालाई उजागर गर्ने उद्देश्य राखेको नेपाल एओटीएस एलुम्नाइ सोसाइटीका अध्यक्ष किशोरभक्त माथेमाले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रदर्शनीमा प्रकृति, संस्कृति, जीवनशैली, खानपान र सामाजिक मूल्यका साझा पक्ष चित्र तथा सामग्रीमार्फत प्रश्तुत गरिएको छ । व्यापार मेलाले व्यवसाय-व्यवसाय (बी-टु-बी) सम्बन्ध विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवद्र्धन र दिगो आर्थिक साझेदारीलाई थप गति दिने अपेक्षा गरिएको उहाँले बताउनु भयो । उहाँले प्रदर्शनीको विशेष आकर्षणका रूपमा जापानको परम्परागत चिया समारोहको प्रदर्शन गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भौगोलिक अवस्था र भाषागत भिन्नताका बाबजुद पनि नेपाल र जापानबीच धेरै साझा मूल्य, परम्परा र जीवनशैली रहेका छन् । यस प्रदर्शनीमार्फत दुवै देशका सांस्कृतिक समानता, साझा मूल्य-मान्यता, संस्कृति, जीवनशैली, खानपान, प्राकृतिक सौन्दर्य, वनस्पति तथा मनोरम भू-दृश्यहरू प्रश्तुत गरिएको छ । हामीले प्राचीन कालदेखि वर्तमानसम्म नेपाल र जापानबीच रहेका कालजयी समानताहरू झल्काउने तस्वीरहरू तथा विभिन्न सामग्रीहरू एकै स्थानमा प्रश्तुत गर्ने प्रयास गरेका छौं । यो प्रदर्शनी दुवै संस्कृतिका लागि एउटा ऐनाजस्तै हो । जापानी आगन्तुकहरूले नेपाली तस्बिरहरु हेर्दा नेपालको प्रकृति र भू-दृश्यमा पुरानो जापानको आत्मीय अनुभूति गर्नुहुनेछ । त्यसैगरी नेपाली आगन्तुकहरूले जापानी तस्वीरहरू हेर्दा आफ्नै सांस्कृतिक सम्पदासँगको परिचित सम्बन्ध महशुस गर्नुहुनेछ । समयसँगै धेरै परम्परागत अभ्यासहरू हराउँदै गएका भएपनि तिनका स्मृतिहरू तस्बिरमार्फत अझै जीवित छन् ।’

कार्यक्रममा चेम्बर अध्यक्ष अग्रवालले नेपाल-जापानबीच सम्बन्धको चर्चा गर्दै जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादन, नवीकरणीय ऊर्जा, स्वास्थ्य, शिक्षा र डिजिटल सेवाका क्षेत्रमा संयुक्त लगानी गर्न तथा प्रविधि हस्तान्तरण विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रत्यक्ष वैदेशिक लगानी, सीप विकास र औद्योगिक सहकार्य बढाउन दुवै देशका निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाई छ । उहाँले चेम्बर स्वदेशी तथा विदेशी लगानीकर्ताहरूका लागि अनुकूल व्यावसायिक वातावरण निर्माण गर्न सहयोग पूर्ण रूपमा प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल-जापान सहकार्यको भविष्य केवल सरकार–सरकारबीचको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै उहाँले जनस्तर-जनस्तरबीचको सम्बन्ध, शैक्षिक साझेदारी, औद्योगिक सहकार्य तथा निजी क्षेत्रको नेतृत्वमा पनि समान रूपमा निर्भर रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालसँग जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, पूर्वाधार, नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा, शिक्षा, लजिस्टिक्स तथा डिजिटल सेवाजस्ता क्षेत्रमा अपार सम्भावना रहेको छ । साथै, दक्षिण एशियामै सबैभन्दा युवा जनशक्ति भएको मुलुकमध्ये नेपाल एक हो, जसले उत्पादनशील लगानी तथा नवप्रवर्तनका लागि असाधारण अवसरहरू प्रदान गर्दछ । तर यी सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न बलियो साझेदारी, व्यापक प्रविधि हस्तान्तरण, प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि तथा निरन्तर सीप अभिवृद्धि आवश्यक छ । जापान उन्नत उत्पादन प्रविधि, सुक्ष्म इन्जिनियरिङ, रोबोटिक्स, हरित प्रविधि, गुणस्तर व्यवस्थापन तथा नवप्रवर्तनमा विश्वप्रसिद्ध विशेषज्ञता भएको राष्ट्र हो । अर्कोतर्फ, नेपालसँग रणनीतिक अवसरहरू, प्रशस्त प्राकृतिक स्रोत, उद्यमशील ऊर्जा तथा विस्तारोन्मुख क्षेत्रीय बजारमा पहुँचको विशेषता छ । यी परस्पर पूरक शक्तिहरूका आधारमा हामी दुवै देशले पारस्परिक लाभ हुने साझेदारी निर्माण गर्नसक्छौं । चेम्बर स्वदेशी तथा विदेशी लगानीकर्ताहरूका लागि अनुकूल व्यावसायिक वातावरण निर्माण गर्न पूर्ण रूपमा प्रतिवद्ध छ । हामी नेपाल सरकार, जापानी साझेदार संस्थाहरू तथा विकास साझेदारहरूसँग निकट सहकार्य गर्दै व्यापार सहजीकरण, लगानीमैत्री वातावरणको विकास, व्यावसायिक विश्वास अभिवृद्धि तथा निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउन निरन्तर प्रयासरत रहनेछौं ।’

नेपालका लागि जापानी राजदुत मायदा तोरुले जापानमा तीन लाखभन्दा बढी नेपाली अध्ययन र रोजगारीमा संलग्न रहेको उल्लेख गर्दै उनीहरूले दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाएको बताउनु भयो । राजदुत तोरुले नेपाल आर्थिक रूपान्तरणको चरणमा रहेको उल्लेख गर्दै जलविद्युत्, सडक, रेल, उत्पादन, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनु भयो । उहाँले नेपालमा विभिन्न क्षेत्रमा ४९ भन्दा बढी जापानी कम्पनीहरुले व्यवसाय गरिरहेको जानकारी दिनुभयो । नेपालसँग व्यापार तथा लगानी गर्न इच्छुक जापानी कम्पनीहरूबाट जापानस्थित नेपाली दुतावासमा प्रत्येक वर्ष २०० भन्दा बढी व्यावसायिक जिज्ञासाहरू प्राप्त हुने गरेको उहाँको भनाई छ । उहाँले नागढुंगा सुरुङमार्ग, बीपी राजमार्ग तथा तनहुँ जलविद्युत् आयोजनाजस्ता परियोजनामा जापानले निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल अहिले राष्ट्र निर्माणको एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ । निरपेक्ष गरिबी लगभग अन्त्य हुने अवस्थामा पुगेको छ र अल्पविकसित राष्ट्रको सूचिबाट स्तरोन्नति हुने अवस्थामा छ । यससँगै आर्थिक वृद्धि र रोजगारी सिर्जना व्यापक आर्थिक व्यवस्थापनका प्रमुख प्राथमिकता बन्दै गइरहेका छन् । शिक्षामा भर्ना दर लगभग शतप्रतिशतको नजिक पुगेको छ भने ठूला अस्पतालहरूमा उपलब्ध स्वास्थ्य सेवाको गुणस्तर युरोप, अमेरिका तथा जापानका अस्पतालहरूसँग तुलना गर्न सकिने स्तरमा पुगेको छ । अब नेपालको विकासका लागि संरचनागत सुधार र सुशासनका विषयहरू अझ महत्वपूर्ण बन्दै गएका छन् । नेपालको भावी आर्थिक विकासका लागि क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खला र उत्पादन सञ्जालसँगको अझ सुदृढ एकीकरण अत्यन्त आवश्यक छ । जलविद्युतजस्ता स्वच्छ ऊर्जा तथा सडक र रेलमार्गको सुदृढ पूर्वाधार विकासले उत्पादन उद्योग, सूचना प्रविधि, पर्यटन, कृषि लगायतका अनेकौं क्षेत्रहरूको विशाल सम्भावनालाई उजागर गर्नेछ ।’

प्रदर्र्शनीले नेपाल-जापानबीचको ७० वर्षे कुटनीतिक सम्बन्धलाई सांस्कृतिक आदान-प्रदानसँगै व्यापार, लगानी र आर्थिक सहकार्यको नयाँ चरणमा विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ । शुक्रबारसम्म चल्ने प्रर्दशनीमा नेपाल र जापानबीचका संस्कृति, परम्परा, वास्तुकला, खानपान र सामाजिक मूल्यका समानता झल्काउने ७० सामग्री प्रदर्शनमा राखिएका छन् । साथै, जापानी चिया संस्कार, व्यापार तथा लगानी मेला, सेमिनार र प्यानल छलफल पनि आयोजना गरिएको छ । व्यापार मेलामा २० भन्दा बढी नेपाली तथा जापानी कम्पनी र संस्थाका करिब दुई दर्जन स्टल रहेका छन् । ती स्टलमा उत्पादन, सेवा, प्रविधि, नवप्रवर्तन तथा लगानीका अवसर प्रस्तुत गरिएको छ । कार्यक्रममा सहभागी हुन २० सदस्यीय जापानी व्यवसायिक प्रतिनिधिमण्डल नेपाल आएको छ । प्रतिनिधिमण्डलले नेपाली निजी क्षेत्रसँग व्यापार, लगानी, प्रविधि हस्तान्तरण र साझेदारी विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।