गुरुयोजना बनाएर तिलौराकोटको विकास गर्नु पर्छ : उपाध्यक्ष डा.लामा

बैसाख ३० । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले प्राचीन शाक्य राज्यको राजधानी तिलौराकोट (कपिलवस्तु) को गुरुयोजना बनाएर विकास गर्नु पर्ने बताका छन् । तिलौराकोटमा आयोजित २५६९ औँ बुद्ध जयन्ती तथा प्रसुती उत्सव कार्यक्रममा बोल्दै कपिलवस्तु‚ रामग्राम र देवदहको विकासका लागि गुरुयोजना बनाएर बौद्ध विहार र गुम्बाहरु निर्माण गर्नु पर्ने बताएका हुन् ।  “कम्तिमा पुजा गर्नका लागि गुम्बा चाहियो‚आउने पर्टकहरुलाई बासको व्यवस्था गर्नु पर्यो ” उनले भने । तिलौराकोट विश्व सम्पदा सुचिमा सुचिकरण हुने अन्तिम चरणमा रहेको जानकारी दिँदै उपाध्यक्ष लामाले यस क्षेत्रको विकासका लागि संघ‚प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधिहरुले पहल गर्नु पर्ने बताए ।

२०४२ सालमा निर्माण गरिएको लुम्बिनी विकास  ऐनले प्रदेश र स्थानीय सरकारले नचिन्ने भएका कारण ऐन संशोधन गर्नु पर्नेमा जोड दिए । ऐनमा जे सुकै उल्लेख भएको भए पनि प्राचिन सम्पदाहरुमा स्थानीयको पहिलो अधिकार हुने भएकाले तिलौराकोट क्षेत्रको विकासका लागि हातेमालो गर्न स्थानीय बासिन्दा संग आग्रह गरे । ऐन संशोधनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गर्दै उपाध्यक्ष लामाले ऐन खुकुलो हुने हो भने बौद्ध क्षेत्रको विकास गर्न सरकारको बजेट आवश्यक नपर्ने बताए । “संसारभर लाखौँको संख्यामा बौद्धमार्गीहरु छन् बजेटको समस्या हुँदैन पैसाको व्यवस्था हामी गर्छौँ बरु समयन्त्र बनाएर सरकारले नै खर्च गरोस उपाध्यक्ष लामाले भने” । तिलौराकोट लगायतका बौद्ध क्षेत्रको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउँदै उनले यसका लागि सबै क्षेत्रको साथ सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रमको अवसरमा मंगलबार विहान शिशु बुद्धको प्रतिमालाई शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर ‘प्रसूति उत्सव’ गरिएको थियो  ।  शिशु बुद्ध’को प्रतिमा लिन कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार  तामाङसहितको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको थियो । शिशु बुद्ध लिएर गएको प्रमुख जिल्ला अधिकारी तामाङसहितको टोलीलाई तिलौराकोटमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो ।