जेठ २५ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्।
सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दा हङकङले मलेसियामाथि ६ विकेटको जित निकालेको थियो। समूह चरणमा नेपालले चीन र मलेसियालाई फराकिलो अन्तरले हराउँदै आफ्नो उत्कृष्ट लय कायम राखेको छ।
मध्याह्न १२:१५ बजे सुरु हुने फाइनलमा दुवै टोली अपराजित यात्रालाई उपाधिसहित टुंग्याउने लक्ष्यमा छन्। टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा नेपाल र हङकङबीच हालसम्म १४ पटक भेट भएकोमा नेपालले ७ र हङकङले ५ खेल जितेका छन् भने दुई खेल वर्षाका कारण नतिजाविहीन बनेका थिए।
प्रतियोगिताको तेस्रो स्थानका लागि आजै मलेसिया र ओमानबीच पनि प्रतिस्पर्धा हुँदैछ ।