जेठ २२ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म लुम्बिनी प्रदेशसहित तराईका विभिन्न जिल्लामा तातो हावाको लहर र अत्यधिक गर्मीको जोखिम रहने भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जारी सूचनाअनुसार लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम स्तरको तातो हावाको लहर चल्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि केही दिनसम्म अत्यधिक गर्मी रहने अनुमान गरिएको छ। केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने जनाइएको छ।
प्राधिकरणले सर्लाही, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी,रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लालाई विशेष सतर्कता अपनाउनुपर्ने सूचीमा राखेको छ। त्यस्तै झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी (सुस्ता पूर्व), कैलाली र कञ्चनपुरलाई अत्यधिक गर्मीको जोखिमयुक्त जिल्लाका रूपमा उल्लेख गरिएको छ।
गर्मीका कारण शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, अत्यधिक पसिना आउने, चक्कर लाग्ने, बेहोस हुने तथा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले प्राधिकरणले दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का र सुतीका कपडा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूको विशेष हेरचाह गर्न आग्रह गरेको छ।
प्राधिकरणले आवश्यक सावधानी अपनाई गर्मीजन्य स्वास्थ्य समस्याबाट सुरक्षित रहन सबै नागरिकलाई अनुरोध गरेको छ।