सोलुखुम्बुमा भारतीय सहयोगमा ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग’ गुम्बाको शिलान्यास

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ‘ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग’ गुम्बाको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदुतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो । भारत सरकारको करिव ३ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत रहेको छ ।

लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिने यो योजना सोलुखुम्बु जिल्लाकै छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । शिलान्यास समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो । नयाँ पूर्वाधारको निर्माणले सोलुखुम्बुको लिखु पिके क्षेत्रमा रहेको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण, सम्बर्द्धन महत्वपूर्ण योगदान पुर्याउने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो ।

नेपाल र भारतबीचको घनिष्ठ र बहुआयामिक सहकार्यको परिणाम स्वरूप यस्ता परियोजनाहरू सञ्चालन हुँदै आएका छन् । उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा भौतिक पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारको समृद्धि र विकासको लक्ष्यलाई सुदृढ पार्न भारतको निरन्तर सहयोग रहने प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ ।