नवलपरासी । कलाकारिताको चमक धमक पूर्ण संसारमा प्रवेश गर्न जति सहज देखिन्छ, त्यहाँ आफ्नो पहिचान बनाउनु र टिकिरहनु त्यति नै कठिन हुन्छ । यही संघर्षपूर्ण यात्राको जीवन्त उदाहरण बनेका छन् बागलुङका युवा निर्देशक तथा शब्द रचनाकार अलोन रेशम विगत आठ वर्षदेखि काठमाडौँमा निरन्तर संघर्ष गर्दै आएका रेशमको पछिल्लो म्युजिक भिडियो ‘अनुमति’ ले अहिले नेपाली म्युजिक भिडियो क्षेत्रमा चर्चा बटुल्न सफल भएको छ।
बागलुङ जिल्लाको बरेङ गाउँपालिका–२ मा जन्मिएका अलोन रेशम ठूलो सपना बोकेर राजधानी आएका थिए। काठमाडौँको भीडमा हराउन आएका सयौँ युवामध्ये उनी पनि एक थिए, तर निरन्तर मेहनत, धैर्य र सिकाइले उनलाई फरक पहिचान दिलायो। आठ वर्षको अवधिमा उनले मोडलिङ, पर्दा पछाडिको प्राविधिक काम, निर्देशन र शब्द लेखनसम्मको अनुभव सँगाले। यही यात्राले आज उनलाई परिपक्व स्रष्टाको रूपमा उभ्याएको छ।
हालै सदिक्षा क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियो ‘अनुमति’ केवल गीत मात्र नभई सामाजिक यथार्थमा आधारित सशक्त कथा हो। भिडियोले श्रीमान–श्रीमतीबीच हुने शंका, अहम् र घमण्डले कसरी परिवार भत्काउँछ भन्ने यथार्थलाई सूक्ष्म ढंगले प्रस्तुत गरेको छ। “म भन्दा राम्रो खोज” भन्ने वाक्यबाट सुरु हुने दूरी, गरिबीको पीडा, आर्थिक अभाव र आपसी समझदारीको कमीले निम्त्याउने गम्भीर परिणामलाई भिडियोले प्रभावकारी रूपमा देखाएको छ।
भिडियोमा कलाकार जी.बी. चिरन र सदिक्षा पाण्डेको जीवन्त अभिनयले कथालाई अझ सशक्त बनाएको छ। उनीहरूको भावनात्मक प्रस्तुतीले दर्शकलाई भावुक बनाउने मात्र होइन, आफ्नै वरपरको समाज सम्झन बाध्य बनाउँछ। साथै, बाल कलाकार युक्ता विष्टको उपस्थितिले कथामा थप संवेदनशीलता र मार्मिकता थपेको छ।
प्राविधिक पक्षमा पनि ‘अनुमति’ सशक्त देखिन्छ । गीतमा गायक बादल थापाको स्वरले शब्दको मर्मलाई गहिरो बनाएको छ भने विशाल निरौलाको संगीत तथा एरेन्जले गीतलाई सुमधुर बनाएको छ। बिसा लामाको छायांकनले काठमाडौँका विभिन्न लोकेसनलाई नयाँ दृष्टिकोणमा प्रस्तुत गरेको छ। त्यस्तै, मिन रावलको कसिलो सम्पादनले भिडियोको गति र भावनालाई सन्तुलित राखेको छ।
आजको समयमा भड्किला र अर्थहीन म्युजिक भिडियोहरूको भीडमा ‘अनुमति’ जस्तो सन्देशमूलक सिर्जनाले नेपाली कला क्षेत्रको गरिमा जोगाएको देखिन्छ। अलोन रेशमको यो प्रयासले पारिवारिक मूल्य, आपसी सम्मान र सामाजिक यथार्थको महत्त्वलाई पुनः स्मरण गराएको छ। पारिवारिक कथा र यथार्थपरक विषयवस्तु मन पराउने दर्शकका लागि ‘अनुमति’ एक उत्कृष्ट म्युजिक भिडियोका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
