नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) । नेपाली कांग्रेस नवलपरासी बर्दघाट–सुस्ता पूर्वका पूर्व क्षेत्रीय सभापति कपिलदेव भुसाल प्रतिनिधिसभा सदस्यका लागि सशक्त दाबेदारका रूपमा अगाडि आउनुभएको छ।
पार्टीकाे पूर्व महासमिति सदस्य रहनुभएका भुसाल हाल संगठन विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ। भुसाल ज्ञानोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुनुहुन्छ। शिक्षा क्षेत्रबाट उहाँको सार्वजनिक जीवन सुरु भएको हो।
विकासप्रेमी नेताका रूपमा परिचित भुसाल यस क्षेत्रको विकासमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। पूर्वाधार विकास, शिक्षा सुधार र संगठन सुदृढीकरणमा उहाँको भूमिका उल्लेखनीय छ। स्थानीय आवश्यकतालाई उहाँले नजिकबाट बुझ्नुभएको छ भने विगतदेखि वर्तमानसम्मको राजनीतिक र सामाजिक अवस्थाबारे उहाँ जानकार हुनुहुन्छ। यही कारण उहाँप्रति भरोसा बढ्दो छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सिफारिस हुनुभएको भुसालको पार्टीबाट टिकट पाउने सम्भावना बलियो रहेको चर्चा छ।
स्थानीय स्तरमा लोकप्रिय नेताका रूपमा परिचित भुसाल प्रतिनिधिसभामा जिल्लाको आवाज मजबुत रूपमा उठाउन सक्ने अपेक्षा गरिएको छ।
पार्टीको अन्तिम निर्णयप्रति सबैको चासो छ। भुसालसँगै निर्वाचन क्षेत्र नम्बर १ बाट डा. शशांक कोइराला, गजेन्द्र बहादुर आले, ओम सापकोटा, अमृत भट्टचन, हरिराज गौतम र बालकृष्ण घिमिरेलाई पार्टीले सिफारिस गरेको छ। प्रतिनिधि सभा सदस्यको उम्मेदवारीमा भुसालको सिफारिसले जिल्लाको राजनीतिमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।