हङकङको ताई पो स्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीमा एक अग्नि नियन्त्रकसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन्। हाउजिङ इस्टेटका सबै ८ वटा ब्लकका बाँसका मचानमा आगो लागेको र धेरै बासिन्दाहरू भवनभित्रै फसेको पुष्टि गरिएको छ।
बुधबार दिउँसो, घटनास्थलबाट उठेको कालो धुवाँको ठूलो मुस्लो आकाशभरि फैलिएको थियो। सबैभन्दा पहिले आगो इस्टेटका चार ब्लकमा मात्र फैलिएको देखिएको थियो, तर केही बेरमै यसले सिङ्गै समूहलाई च्याप्यो।

प्रहरीका अनुसार, आगो सुरु भएको ब्लकमा धेरै मानिसहरू फसेका खबरहरू आएपछि उद्धार टोली परिचालन गरिएको थियो। घटनास्थलबाट एक पुरुष र एक महिला बेहोस अवस्थामा र जलेको अवस्थामा भेटिएका थिए।
आगो लगत्तै नम्बर १ अलार्म अन्तर्गत वर्गीकृत गरिएको थियो। तर, आगो थप भयानक बन्दै गएपछि यसलाई दिउँसो ३:३४ बजे नम्बर ४, र साँझ ६:२२ बजे उच्चतम तह नम्बर ५ मा उकासिएको थियो। हङकङमा आगोको गम्भीरता १ देखि ५ स्केलमा मापन गरिन्छ, जसमा ५ सबैभन्दा खतरनाक मानिन्छ।

घटनास्थलका भिडियो र तस्वीरहरूमा भवनका धेरै फ्ल्याट बाहिरका बाँसका मचान पूर्ण रूपमा जलेको देखिन्छ। हरियो मचान जालीका भागहरू जलेर भुइँमा खसेका थिए, जसले आगोको भयावहता झनै स्पष्ट बनाएको छ।
अहिलेसम्म उद्धार कार्य जारी छ र अधिकारीहरूले मृतक तथा घाइतेको संख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्।