सर्वाङ्गीण कृषि सहकारी संस्थाको २५ औं साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा उपाध्याय चयन

सुनवल ।  सर्वाङ्गीण कृषि सहकारी संस्था लि.को २५ औं वार्षिक साधारण सभा तथा अधिवेशन प्रगति बाल उद्यान, सुनवल–१, सोमनाथमा सम्पन्न भएको छ। सभा अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल नगरपालिका–६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

संस्था वि.स. २०५६ साल श्रावण २० गते स्थापना भएको थियो। हाल २६ सय ९ जना शेयर सदस्य रहेका छन् भने संस्थाको कुल पूँजी ३३ करोड ६८ लाख ६१ हजार १ सय ४६ रुपैयाँ रहेको संस्थाले जनाएको छ।

अध्यक्ष खगराज उपाध्यायले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भन्नुभयो, “हाम्रो संस्थाले विगत वर्षमा कृषि क्षेत्रमा दिगो विकासका लागि विशेष योजना र लगानी सुरु गरेको छ। हामीले किसान सदस्यहरूलाई आत्मनिर्भर बनाउन कृषि तालिम, आधुनिक खेतीका प्रविधि र बजार पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गरेका छौं। यसले केवल उत्पादन मात्र बढाउने छैन, सदस्यहरूको आर्थिक स्थिति मजबुत बनाउने छ। आगामी वर्षमा हामी कृषि व्यवसायमा नयाँ योजना, वित्तीय व्यवस्थापन सुधार, र सदस्यहरूको सीपमूलक कार्यक्रममा जोड दिने लक्ष्य लिएका छौं। साथै, सहकारीमा वित्तीय पारदर्शिता कायम राख्दै सदस्यहरूको विश्वासमा निरन्तरता दिने हाम्रो प्रमुख उद्देश्य हो।”

उहाँले थप भन्नुभयो, “सहकारीले गाउँ स्तरमै रोजगारी सिर्जना गर्ने, सदस्यहरूको जीवनस्तर उकास्ने, र कृषि उत्पादनलाई व्यवस्थित बजारमा पुर्‍याउने काममा पनि ध्यान दिनेछ। हामी प्रत्येक सदस्यको सल्लाह र सुझावलाई प्राथमिकता दिने छौं र सहकारीलाई व्यवसायिक दृष्टिले सशक्त बनाउने दिशामा काम गर्नेछौं। हाम्रो लक्ष्य केवल मुनाफा मात्र नभई सामाजिक उत्तरदायित्वमा आधारित विकास सुनिश्चित गर्नु हो।”

 

 

कोषाध्यक्ष हरि प्रसाद चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आव २०८१/०८२ मा संस्थाले ५५ लाख १ हजार ८ सय ४४ रुपैयाँ कुल मुनाफा आर्जन गरेको जानकारी दिनुभयो। कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक सुवर्णराज उपाध्यायले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हिमलाल शर्मा चापागाईले सहकारीमा भएको तरलता व्यवस्थित गरी व्यवसायमुखी र सदस्यको आर्थिक विकास तथा सीपमूलक कार्यक्रमको योजना बनाई अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो।

उपाध्यक्ष रुद्रनाथ लामिछानेको स्वागत मन्तव्यसहित, महिला शेयर सदस्य गोमा आचार्य, सुनवल सामुदायिक सहकारी अध्यक्ष गोविन्द ढकाल, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक जित बहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभयो।

सो अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई नगद तथा प्रमाणपत्र द्धारा सम्मान गरीएको कार्यक्रम संचालक तथा संस्थाका सचिव कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो ।

सभाले अध्यक्ष खगराज उपाध्याय, उपाध्यक्ष कृष्ण प्रसाद अर्याल, सचिव हरि प्रसाद चापागाई, कोषाध्यक्ष दुर्गा कुमारी काफ्ले, लेखा समिति संयोजक थमन सेरचन, लेखा समिति सदस्य गोमा आचार्य, लेखा समिति सदस्य जिवलाल भट्टराई हरुलाई आगामी कार्यकालका लागि चयन गरेको छ । भन्ने बाँकी सदस्यको सहमति नजुट्दा, भोलि कार्तिक २३ गते ३ बजे सर्वाङ्गीण कृषि सहकारी संस्था लि.को सभाहलमा पुनः छलफलका लागि निर्वाचन समितिले बोलाइएको छ भने निर्वाचन समितिमा संयोजक रुमागत बस्याल, सदस्य सुनवल नगरपालिका सहकारी शाखा प्रमुख सन्तोष यादब, सदस्य यज्ञ प्रसाद ढकाल रहेका छन्।