सुनचाँदीको मूल्यमा भारी गिरावट, बजारमा सुन तोलाको मूल्य ११ हजार ६ सयले घट्यो

काठमाडौं  । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको मूल्य ११ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ४१ हजार ९ सय रुपैयाँमा झरेको छ। यसअघि कार्तिक ३ गते सोमबार तोलाको २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य एकाएक घट्नुले बजारमा हलचल ल्याएको छ।

महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबूती, अमेरिकी फेडरल रिजर्भको मौद्रिक नीतिमा देखिएको अनिश्चितता र सोनेको मागमा आएको कमीका कारण विश्वबजारमा सुनको मूल्यमा गिरावट आएको हो। त्यसको सीधा असर नेपाली बजारमा पनि परेको बताइएको छ।

हाल बजारमा छापावाल सुन तोलाको २ लाख ४१ हजार ९ सय रुपैयाँ र तेजाबी सुन तोलाको २ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यससँगै आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार सोमबार चाँदी तोलाको २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ। गत सोमबार अर्थात् कार्तिक ३ गते चाँदी तोलाको मूल्य ३ हजार २८० रुपैयाँ थियो।

सुनचाँदी व्यवसायीहरूका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा उतारचढाव बढेकाले मूल्य अस्थिर देखिएको छ। उनीहरूका भनाइमा, बजारमा लगानीकर्ताहरूले सुनमा लगानी गर्न सतर्कता अपनाइरहेका छन् भने उपभोक्ताहरू पनि मूल्य घट्ने आशंकामा खरिदमा ढिलाइ गरिरहेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले उपभोक्तालाई आधिकारिक मूल्य सूचनामार्फत मात्रै कारोबार गर्न आग्रह गर्दै बजारमा अनावश्यक अफवाहमा नफसिन सुझाव दिएको छ।