
काठमाडौं । देशभर जारी निषेधाज्ञा र कर्फ्यूको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ।
विमानस्थल कार्यालयका अनुसार मंगलबार दिउँसो २:३० बजेदेखि नै विमानस्थल बन्द गरिएको थियो, जसलाई निरन्तरता दिँदै बेलुकी ६ बजेसम्मका लागि उडान स्थगित गरिएको हो। यस अवधिमा निजी वायुसेवाका हेलिकप्टर, आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै प्रकारका उडानहरू रोकिएका छन्।
आन्तरिक उडान गर्ने प्रमुख कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले आजका सम्पूर्ण उडान स्थगित भएको यात्रुवर्गलाई जानकारी दिएका छन्।
बुद्ध एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, “विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरू रद्द गरिएको छ। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।”
त्यस्तै, यति एयरलाइन्सले समेत भनिएको छ, “देशको विषम परिस्थितिका कारण यति एयरलाइन्सको आजका सम्पूर्ण उडानहरू रद्द भएको जानकारी गराउँदछौं। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं। धन्यवाद।”
यसबीच, विमानस्थलमा यात्रु आवतजावत रोकिएको र सुरक्षामा कडाइ गरिएको छ। नेपाली सेनासहितका सुरक्षा निकायले विमानस्थल क्षेत्रमा कडा निगरानी राखेका छन् ।