
काठमाडौं । देशभर सुरक्षा निकाय परिचालन भएपछि २४ घण्टा भित्रै ठूलो संख्यामा पक्राउ, नगद र हतियार बरामद भएको छ।
मिति २०८२ भाद्र २४ गते राति १० बजेदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका सम्पूर्ण सुरक्षा निकाय परिचालन भएलगत्तै आज भाद्र २५ गते बिहान १० बजेसम्म काठमाडौंसहित विभिन्न स्थानहरूमा लुटपाट, आगजनी र जनधनको क्षति गर्ने मनसायले अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिइएको छ।
सुरक्षा निकायका अनुसार काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी नगद रु. ३३ लाख ७० हजार बरामद गरिएको छ। यस्तै, काठमाडौंका विभिन्न स्थान र पोखराबाट गरी विभिन्न प्रकारका ३१ नाल हतियार, म्यागजिन र गोलीगठ्ठा समेत बरामद गरिएको छ।
यसैबीच, आगजनी नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग गरी निभाउने कार्य भइरहेको छ।
घटनाक्रममा २३ जना नेपाल प्रहरी र ३ जना गैर–सैनिक घाइते भएका छन्। उनीहरूको अहिले सैनिक अस्पतालमा उपचार भइरहेको जनाएको छ।
सुरक्षा निकायले स्थिति थप बिग्रन नदिन निगरानी कडा पारिएको र शान्ति सुरक्षामा खलल पुर्याउने कार्यमा संलग्नहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।