उपत्यकामा कर्फ्यू तोड्दै प्रदर्शन, नेताको घरमा तोडफोड र आगजनी

काठमाडौं । जेनजीको आन्दोलन दोस्रो दिन उग्र बनेको छ। उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाइए पनि प्रदर्शनकारीहरूले चोकचोकमा नाराबाजी गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।

यस क्रममा प्रदर्शनकारीहरूको एक समूह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पुगेको छ। उनीहरूले निवासको गेट तोडफोड गरेका छन् र घरभित्र प्रवेश गर्ने प्रयाससमेत गरेका छन्।

त्यस्तै, प्रदर्शनकारीहरूले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजनी र ढुंगामुढा गरेका छन्। हाल सो स्थानमा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।