
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।
२०८१ असार ३१ गते मन्त्री बनेका अधिकारीले शुक्रबार (भदौ २४) प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा “यस्तो अवस्थामा पदमा टाँसिइरहन नमिल्ने” भन्दै आफ्नो नैतिक जिम्मेवारीका कारण पद छाडेको बताएका छन्।
अधिकारीले आफ्नो राजीनामा पत्रमा हालै राजधानीसहित देशका विभिन्न स्थानमा युवापुस्ताले भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध खबरदारी गरेको स्मरण गर्दै, सरकारको दमन र हिंसाले लोकतन्त्र कमजोर भएको उल्लेख गरेका छन्।
“स-साना कलिला छोराछोरीहरूको हत्या र दमनपछि सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षा विपरीत हुने भएकाले अपराधबोध भयो,” उनले पत्रमा उल्लेख गरेका छन्।
उनले लोकतन्त्रमा नागरिकको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने भन्दै देश चाँडै निकासमा पुग्ने विश्वास व्यक्त गरेका छन्।