राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही : ‘जेन जी आन्दोलनमा भएको दमन नरसंहार, प्रधानमन्त्री–गृहमन्त्री पक्राउ पर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जेन जी पुस्ताद्वारा गरिएको आन्दोलनमा भएको सरकारी दमनलाई ‘नरसंहार’को संज्ञा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको केवल राजीनामाले मात्र जिम्मेवारी पूरा नहुने भन्दै दुवैलाई तत्काल पक्राउ गरी जेल पठाउनुपर्ने माग गरेका छन्।

शाहीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रहरीको गोलीप्रयोग र बलप्रयोगका कारण निर्दोष युवाहरूको मृत्यु हुनु सरकारको योजनाबद्ध दमन भएको दाबी गरे। उनले लेखेका छन्, “प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होइन, उनीहरूलाई नरसंहारको मुद्दा दर्ता गरी तुरुन्तै पक्राउ गर्नुपर्छ।”

शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई अबको आन्दोलनको नेतृत्व लिन पनि आह्वान गरेका छन्। उनका अनुसार मुलुकभर फैलिएर गएको जेन जी आन्दोलनलाई सफल बनाउन नयाँ पुस्तालाई नेतृत्वमा आउनुपर्ने समय आएको छ।

सोमबार भएको प्रदर्शनमा प्रहरी दमनबाट दर्जनौं युवाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। घटनापछि मुलुकभर सरकारविरुद्ध आक्रोश चुलिएको छ। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र लगातार बढिरहेको भ्रष्टाचारका विरुद्धमा युवाहरूले राजधानीलगायत विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए।

शाहीले देशका लागि बलिदान दिएका जेन जी पुस्ताका युवाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै देशभर ‘रात्रिकालीन क्रान्ति’ सुरु गर्न आह्वान गरे। उनले भनेका छन्, “आजको रात बलिदान दिने जेन जीका लागि जागौं, र नयाँ क्रान्तिको सुरुवात गरौं।”

यसअघि गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा १९ जनाको मृत्यु भएको घटनाप्रति नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए। तर विपक्षी दल र नागरिक समाजले घटनाको निस्पक्ष छानबिन गर्दै दोषीलाई कानूनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।

देशको राजनीतिक अवस्था चर्किँदै जाँदा आन्दोलन अझ व्यापक हुने संकेत देखिएको छ। सुरक्षा निकायले भने थप भिडन्त हुनसक्ने भन्दै उच्च सतर्कता अपनाएको छ।