एमालेले मात्रै देशलाई सही बाटोमा फर्काउन सक्छः ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्रै मुलुकलाई सही बाटोमा फर्काउने दाबी गर्नुभएको छ ।

जेन—जी आन्दोलन पछि पहिलो पटक शनिवार भक्तपुरका गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा फर्काउन संयमताका साथ एकतावद्ध भएर अघि बढ्न पनि सिंगो पार्टी पंक्ति र देशवासीलाई आह्वान गर्नुभयो । एमालेका कार्यकताहरुको घर जलेको, ठूलो क्षति भएको भएपनि एमाले कार्यकर्तालाई हरेश नखान ओलीको आग्रह थियो । उहाँले मुलुकलाई अघि बढाउन राष्ट्रिय एकता र समझदारी आवश्यक रहेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा (एमाले)का कार्यकर्ताहरुलाई भन्न चाहन्छु– घर जले । कतिपय ठूलो क्षति भयो एउटा परिस्थितिमा । तर हरेश नखानु । एमालेले नै यो यस देशलाई फेरि सही बाटोमा फर्काउने । त्यसकारण म एमालेका साथीहरुलाई हरेश नखान आग्रह गर्न चाहन्छु । सिंगै देशवासीलाई आग्रह गर्न चाहन्छु–हरेश नखानुस् । सबैलाई भन्न चाहन्छु–संयम अपनाउन यतिबेला । र, आक्रोश, रिसराग,  वैरभाव होइन, राष्ट्रलाई जोगाउन र शान्ति र समृद्धिको बाटोमा फर्काउन एकता चाहिएको छ । समझदारी चाहिएको छ । त्यसअनुसार अगाडि बढौं । आग्रह गर्न चाहन्छु ।’  

अध्यक्ष ओलीले आक्रोश, रिसराग र वैरभाव छोडेर देशलाई अघि बढाउन सबैले अग्रसरता दिनुपर्ने समेत बताउनु भयो ।