विदेशी पर्यटक भन्छन्ः ‘नेपालको परिवर्तनका लागि युवाहरुले गरेको आन्दोलनलाई समर्थन गर्‍यौं’

जेन–जी पुस्ताको आन्दोलनले नेपालमा रहेका विदेशी पर्यटकहरुलाई समेत प्रभावित पारेको छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन तथा मनोरञ्जनका लागि नेपाल आएका पर्यटकहरूले हालको परिस्थितिले आफूहरु प्रभावित भएको अनुभव सुनाएका छन् । जेन जी आन्दोलनको कारण आफूहरुको कार्यसूची प्रभावित भएको अनुभव सुनाए । यद्यपि मुलुकको परिवर्तनको लागि युवाहरुले गरेको आन्दोलनमा आफूहरुको मौन समर्थन रहेको उनीहरुको भनाइ छ ।
इन्टर्नसिपका लागि दुई साताअघि नेपाल आउनुभएका एक पर्यटकले भन्नुभयो, ‘हामी शान्त रूपमा घरमै बसेर आन्दोलनलाई समर्थन गरिरहेका छौं । यस्ता आन्दोलनहरू यत्तिकै हुँदैनन्, यसको पछाडि गहिरो कारण हुन्छ । हिंसात्मक रुप भने पीडादायी लाग्यो, तर म नेपाली जनताको उज्यालो भविष्यमा विश्वास गर्छु ।’ 

एक अर्का पर्यटले नेपालमा जिम्मेवार नेतृत्व आउने संकेत जेन जी आन्दोलनले दिएको बताउनु भयो । उहाँले कफ्र्यु र निषेधाज्ञाका कारण आफूहरुलाई यात्रा गर्न कठिन भइरहेको पनि बताउनु भयो । आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उहाँले नेपालले छिट्टै निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले अहिलेको परिस्थितिलाई निकै नजिकबाट पछ्याइरहेको छु । यहाँ सेनाको प्रतिक्रियाबारे मैले मेरा साथीहरूबाट सुनेअनुसार सेनाले यो निर्णय गरेको छ कि नेपालमा मार्सल कानुनको कुनै ऐतिहासिक उदाहरण छैन । सेनाले सत्ताको जिम्मा लिन चाहँदैनन् । मलाई लाग्छ, यो एउटा बलियो संकेत हो कि सेनाको नेतृत्व निकै जिम्मेवार व्यक्तिहरूको हातमा छ । म स्पष्ट रूपमा आशा गर्छु कि यो परिस्थिति चाँडोभन्दा चाँडो समाधान होस् । यसमा धेरै मानिसले ज्यान गुमाइसकेका छन्, ठूलो मात्रामा मूल्यवान संरचनाको विनाश भइसकेको छ । म नेपालबाट होइन, तर यो अवस्था मेरो लागि निकै गाह्रो भएको छ । मेरो आशा छ कि जनताको पक्षमा हुने, उचित र दीर्घकालीन समाधान छिट्टै आओस् ताकि अब अरू कोही मानिसले ज्यान गुमाउनु नपरोस् र अब थप विनाश नहोस् ।’

पर्यटकहरूले आन्दोलन दीर्घकालीन र जनपक्षीय समाधानतर्फ जानुपर्नेमा जोड दिँदै, हिंसा रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।