अराजक गतिबिधि अझै हुनसक्छ, आज दिनभर निषेधाज्ञा र रातभर कर्फ्यू जारी रहन्छ: नेपाली सेना

काठमाडौँ । देशभर आज बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी रहने र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने भएको छ। नेपाली सेनाले अपिल जारी गर्दै शान्ति–सुरक्षा कायम गर्न यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको हो।

सेनाले भनेको छ, आन्दोलनको नाममा अझै पनि अराजक समूह र व्यक्तिहरूले घुसपैठ गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण तथा बलात्कारको प्रयाससम्मका गतिविधि गरिरहेको र गर्नसक्ने सम्भावना देखिएकाले कडा कदम चाल्न बाध्य हुनुपरेको हो।

सेनाको अपिल

  • हाल जारी निषेधाज्ञा आज (भदौ २५ गते) बेलुकी ५ बजेसम्म रहनेछ।

  • तत्पश्चात् भोलि (भदौ २६ गते) बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागू हुनेछ।

  • अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका गाडी) सञ्चालनमा कुनै रोकावट हुने छैन।

  • आवश्यक परे नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सकिनेछ।

सेनाले आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्न सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाउँदै आन्दोलनको नाममा हुने तोडफोड, लुटपाट, आगजनी, तथा व्यक्ति वा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिइने र सुरक्षाकर्मीले कडा कारबाही गर्ने चेतावनी दिएको छ।

May be an image of text

May be an image of text

अफवाह नमान्न आग्रह

सेनाले सम्पूर्ण नागरिक, अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक र सञ्चारकर्मीलाई अफवाह वा भ्रामक समाचार नफैलाउन, आधिकारिक स्रोतकै सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सबैलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गरिएको छ।

सेनाले अन्त्यमा भनेको छ,“जस्तोसुकै परिस्थितिमा पनि नेपाली सेनाले सबै नागरिकको सुरक्षा र मानवीय उद्धारमा आफ्नो प्रतिबद्धता कायम राख्नेछ।”